३२ जेठ, एजेन्सी ।
नेपाली पुरुष राष्ट्रिय फुटबल टोली अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल खेल्न पुगेको फिलिपिन्सको राजधानी मनिलामा भूकम्प गएको छ । मनिलामा आज विहान स्थानीय समय १०ः३० बजे ६.२ म्याग्निच्युडको भूकम्प गएको स्थानीय मिडियाले जनाएका छन् ।
अमेरिकी भौगर्भिक सर्भेका अनुसार बिहीबार राजधानीबाट दक्षिण पश्चिम क्षेत्रमा रहेको हुकलाई केन्द्रबिन्दु बनाएर भूकम्प गएको हो । फिलिपिन्सको राष्ट्रिय प्रकोप जोखिम व्यवस्थापन परिषद उद्धृत गर्दै रोयटर्सले भूकम्पले कुनै क्षति वा दुर्घटना नभएको जनाएको छ ।
तर स्थानीय रेल सेवा अवरुद्ध हुन पुगेको थियो । भूकम्पले कुनै ठूलो दुर्घटना भने नभएको फिलिपिन्सको सेस्मोलोजी एजेन्सीले जनाएको छ । भूकम्पले कुनै गम्भीर क्षति नभएकाले आजको खेल निश्चित समयमा नै हुनेछ । नेपाली समयअनुसार ४ः४५ बजे खेल सुरु हुनेछ ।
नेपाल साफ च्याम्पियनसिपको तयारीका लागि फिलिपिन्स पुगेको हो । फिलिपिन्स भूकम्प र ज्वालामुखी विष्फोट ’रिङ अफ फायर’ले प्रभावित छ । सबैभन्दा बढी उत्तरपूर्वी अल्बे प्रान्त मेयोन ज्वालामुखीको कारण प्रभावित छन् । फिलिपिन्समा भूकम्पको धक्का महसुस भइरहन्छन् ।