न्याय खोजिरहेका उपप्राध्यापक उल्टै पक्राउ परे

४ असार, काठमाण्डौ ।
न्याय माग्दै अदालत पुगेका त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक प्रेम चलाउने स्वयं पक्राउ परेका छन् । उनलाई बबरमहलस्थित काठमाडौं जिल्ला अदालत परिसरबाटप्रहरीले पक्राउ गरेको हो । चलाउनेविरुद्ध ज्यान मार्ने उद्योग आरोपमा मुद्दा खेपिरहेका नेपाल विद्यार्थी संघका कार्यकर्ताविरुद्धको मुद्दा सरकारले फिर्ता लिने निर्णय गरेपछि उनी आज आमरण अनशन गर्ने भन्दै जिल्ला अदालत परिसरमा गएका थिए ।

तर प्रहरीले उनलाई अदालत परिसरभित्रैबाट घिसार्दै पक्राउ गरेको हो । अदालत परिसरमै अनशन बस्न तयार भएपछि उनलाई प्रहरीले लछारपछार गर्दै समातेर लगेको हो । समाजशास्त्रका उपप्राध्यापक चलाउनेलाई २०७७ असोज २० गते सत्तारुढ नेपाली कांग्रेसको भ्रातृसंगठन नेविसंघका कार्यकर्ताहरुले आक्रमण गरेर गम्भीर घाइते बनाएका थिए ।

त्रिवि नेविसंघ अध्यक्ष हरि आचार्यको समूहले चलाउनेलाई गम्भीर घाइते हुनेगरी कुटपिट गरेको थियो । त्यसपछि आचार्यसहित ५ जनाविरुद्ध जिल्ला अदालत काठमाडौँमा मुद्दा चलिरहेको थियो । मुद्दाको अन्तिम सुनुवाइका लागि मंगलबार पेशी तोकिएको थियो । तर त्यसअघि नै सरकारले नेविसंघका कार्यकर्ताविरुद्धको उक्त मुद्दा फिर्ता लिने निर्णय गरिसकेको छ ।

Advertisement

सरकारको निर्णयविरुद्ध चलाउनेले काठमाडौं जिल्ला अदालत परिसरभित्र आमरण अनशन बस्ने चेतावनी दिएका थिए । त्यहीअनुसार उनी अनशन बस्न तयार भएका थिए । तर प्रहरीले न्याय खोजिरहेका चलाउनेलाई होहल्ला गरेको आरोपमा पक्राउ गरेर लगेको हो । अहिले उनलाई सिंहदरबार बृत्तमा राखिएको छ ।

पक्राउ पर्नुअघि उनले आफूले यो मुद्दामा ५ वर्ष चक्कर काटिसकेको र अझै न्याय नपाएको बताएका छन् । उनले देशमा न्याय मरेको र मानवता हराएको बताए ।उनले आफूले बन्द इजलास र सरकारबाट न्याय नपाएको गुनासो समेत गरेका छन् । आफूमाथि आक्रमण गर्ने नेविसंघका कार्यकर्तामाथिको मुद्दा फिर्ता लिने मन्त्रिपरिषदको निर्णय गरेपछि आफू बाध्य भएर आन्दोलनमा उत्रिनुपरेको उनले बताएका छन् ।

Advertisement

सरकारले शक्तिको दुरुपयोग गरेर न्याय मारेको उनको आरोप छ । आफूलाई न्याय दिनुको साटो सरकारले अदालतलाई बाइपास गरेर सुनुवाई हुनुभन्दा दुई दिनअघि मुद्दा फिर्ता लिनु उचित नभएको उनले बताएका छन् । उनले अदालतमा दर्ता भएको मुद्दा फिर्ता लिनु राजनीतिको अपराधीकरण भएको बताए ।

उपप्राध्यापक चलाउनेमाथि ०७७ असोज २० गते त्रिविकै परिसरमा भएको हमलामा संलग्नहरुविरुद्ध जिल्ला सरकारी वकिल कार्यालय, काठमाडौंले ज्यान मार्ने उद्योगमा मुद्दा चलाएको थियो ।हमलामा संलग्न नेविसंघका विद्यार्थी नेताहरु योगेन्द्र रावल, दीपकराज ओझा, हरिप्रसाद आचार्य, रूपेश साह, रविनकुमार लामा, सयुज श्रेष्ठ र निरज रानामगरविरुद्ध मुद्दा दायर भएको थियो ।

उक्त मुद्दा फिर्ता लिन महान्यायाधिवक्ता कार्यालयले जिल्ला सरकारी वकिल कार्यालयलाई पत्र पठाएको थियो । सांघातिक आक्रमणमा परेका चलाउने गम्भीर घाइते भएका थिए । उनको दाहिने खुट्टामा तीनवटा रड नै राख्नुपर्ने गरी चोट लागेको थियो ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top