५ असार, एजेन्सी ।
युरोपियन च्याम्पियनसिप २०२४ छनोटअन्तर्गत मंगलबार राति भएको खेलमा इंग्ल्यान्ड र फ्रान्सले आफ्नो अपराजित यात्रा जारी राखेका छन् । मंगलबार भएको खेलमा इंग्ल्यान्डले म्यासेडोनिया तथा फ्रान्सले ग्रिसलाई पराजित गर्दै छनोट सम्भावना बलियो बनाए । इंग्ल्यान्डका लागि बुकायो साकाले ह्याट्रिक गर्दा म्यासेडोनियामाथि ७–० को फराकिलो जित निकाल्न इंग्लिस टोली सफल भयो ।
युरो छनोटमा इंग्ल्यान्डको यो लगातार चौंथो जित हो । समूह ‘सी’ मा लगातार चौंथो जित निकाल्दा बुकायो साकाले कीर्तिमानी ह्याट्रिक गरे । २१ वर्षीय साका इंग्ल्यान्डका लागि सर्वाधिक कम उमेरमा ह्याट्रिक गर्ने खेलाडी बने । उनीअघि यो कीर्तिमान वालकोटको नाममा रहेको थियो । त्यस्तै कप्तान ह्यारी केनले दुई गोल गर्दा रासफोर्ड र फिलिप्सको नाममा समान १–१ गोल रह्यो ।
लगातार जितसँगै इंग्ल्यान्ड युरो छनोटको सम्भावना बलियो बनाएको छ । उसले यसअघि माल्टालाई ४–० युक्रेनलाई २–० तथा इटालीलाई २–१ ले पराजित गरेको थियो । त्यस्तै, समूह ‘बी’ अन्तर्गत भएको अर्को खेलमा केलियन एम्बाप्पेको पेनाल्टीमा फ्रान्सले ग्रिसलाई १–० ले पराजित ग¥यो । जितसँगै फ्रान्सले लगातार चार खेलमा जित निकाल्दै छनोट सम्भावना बलियो बनाएको छ ।
यसअघि फ्रान्सले गिब्रालटार, आयरल्यान्ड र नेदरल्यान्डलाई पराजित गरेको थियो । मंगलबार नै भएका अन्य खेलमा टर्कीले वेल्सलाई २–० ले पराजित गर्दा युक्रेनले माल्टालाई १–० ले हरायो । त्यस्तै, अर्मेनियाले लाटभियालाई २–१, आयरल्यान्डले गिब्रालटारलाई ३–०, तथा फिनल्यान्डले सान मारिनोलाई ६–० ले पराजित ग¥यो ।
त्यस्तै, इजरायलले एनडोरो तथा बेलारुसले कोसोभोलाई समान २–१ गोल अन्तरले पराजित गरे। अन्य खेलमा स्लोभेनिया र डेनमार्कले १–१ गोलको बराबरी खेल्दा रोमानिया र स्विटजरल्यान्डले २–२ गोलको बराबरी खेलेका थिए ।