‘समाजवादी मोर्चा’ बाबुरामको आँखामा ‘जालझेल’

५ असार, काठमाण्डौ ।
माओवादी केन्द्र, जसपा, नेकपा एस र नेत्रविक्रम चन्द नेतृत्वको नेकपा सम्मिलित समाजवादी मोर्चा सोमबार राजधानीमा घोषणा भयो । मोर्चा घोषणासँगै प्रतिनिधिसभामा ५४ सिटको गठबन्धन बनेको छ । चन्द नेतृत्वको नेकपा भने संसद् बाहिर छ । तर एक वर्षअघि नै समाजवादी केन्द्रको प्रस्ताव गरेका प्रचण्डका पूर्वसहकर्मी बाबुराम भट्टराई भने मोर्चामा हटाएका छैनन्  ।

माओवादी र भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टीले आमनिर्वाचनको मुखमा पार्टी एकता गर्ने अनौपचारिक सहमतिसमेत गरेका थिए । नयाँ पार्टीको नाम ‘नेकपा समाजवादी’ राख्ने समझदारी पनि भएको थियो । त्यति बेलाको सहमतिअनुसार भट्टराईले आफू उठ्दै आएको गोरखा–२ दाहाललाई छाडेका थिए । सहमति अनुरुप नै नेसपाले माओवादीको चुनाव चिन्हबाट निर्वाचन लडेको थियो ।

जसमा नेसपाबाट प्रत्यक्षमा महिन्द्र राय यादवले जित हासिल गरेका छन् । अहिले यादव प्रचण्ड सरकारमा खानेपानी मन्त्री रहेका छन् । अहिले बाबुरामले नै योजना बनाएको समाजवादीमा गैरकम्युनिस्ट जसपा अटाउँदासमेत भट्टराई समेटिएनन । जबकी तीन दिनअघि बाबुरामको प्रचण्डसँग बालुवाटारको भेटमा पनि समाजवादी मोर्चा बनाउने समझदारी भएको बताइएको थियो ।

Advertisement

तर उपेन्द्र यादवका कारण भट्टराईलाई मोर्चामा सहभागी हुन कठिन परेको चर्चा छ । भट्टराईले जसपाबाट अलग भएर नेसपा स्थापना गरेका हुन । संसदमा १२ सिट रहेको जसपा असन्तुष्ट हुने गरी प्रचण्डले नै भट्टराईलाई मोर्चामा सहभागी नगराएको पनि चर्चा छ । यसैबीच पूर्व प्रधानमन्त्रीसमेत रहेका भट्टराईले समाजवादी मोर्चाको निमार्ण प्रति कटाक्ष गर्दै आशङ्का व्यक्त गरेका छन् ।

जालझेलले समाजवादको निर्माण नहुने भन्दै भट्टराईले मोर्चा सत्ताको बार्गेनिङको अंश बन्न नहुने टिप्पणी गरेका छन् । सामाजिक संजालमा उनले लेखेका छन्, ‘समाजवाद संसदीय अङ्कगणित मिलाएर र जालझेल गरेर आउने उपभोग्य वस्तु होइन,’ । ‘यो त उदात्त वैचारिकीको निर्देशनमा उन्नत चेतना र उच्च नैतिक धरातल भएका मानवको लामो सामूहिक प्रयत्नले निर्माण हुने अति उन्नत सभ्यताको चरण हो।’

Advertisement

उनले मोर्चा गठन सत्ताको बार्गेनिङका लागि भएको आशङ्का व्यक्त गर्दै त्यसो नगर्न सुझाव दिएका छन् । ‘कथित समाजवादी मोर्चालाई निजी सत्ता स्वार्थका निम्ति भित्री र बाहिरी सक्तीहरूसँग बार्गेनको हतियार बनाउने दुष्कर्म नहोस्,’ भट्टराईले भनेका छन्, ‘केहीलाई सधैँ र धेरैलाई केही बेर ठग्न सकिन्छ तर सबैलाई सधैँ ठग्न सकिन्न भन्ने हेक्का रहोस् ।’ मोर्चाको घोषणा हुँदै गर्दापनि आइतबार नेकपा एसका सम्मानित नेता झलनाथ खनालले यस्तै आशंका गरेका थिए ।

खनालले समाजवादी मोर्चालाई सत्ता टिकाउने मोर्चा मात्र नबनाउन नेताहरुलाई आग्रह गरेका थिए । उनले देशभरका वामपन्थी, समाजवादी र क्रान्तिकारीहरुलाई एकतावद्ध नगरेसम्म देशमा सही विकल्प निर्माण हुन नसक्ने बताएका छन् । मोर्चाका सुत्रपात बनेका बाबुराम विनाको मोर्चा घोषणापछि प्रधानमन्त्री पुष्पकमल दाहालले भने समाजवादी मोर्चा राजनीतिक परिवर्तनविरुद्ध लाग्नेहरूका निम्ति युद्धको घोषणा भएको बताएका छन् ।

यस्तै नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले आफूहरुले बनाएको समाजवादी मोर्चाले कुनै पार्टीलाई घुर्क्याउन, दबाब दिन र तर्साउन नखोजेको बताएका छन् । जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले सोमबार घोषणा भएको समाजवादी मोर्चाबाट कोही पनि नडराउन आग्रह गरेका छन् ।

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) महासचिव नेत्रविक्रम चन्द विप्लवले चार दल सम्मिलित समाजवादी मोर्चा नेपाली राजनीतिको नयाँ मोड भएको बताएका छन् । समाजवादी मोर्चाबारे एमाले अध्यक्ष केपी ओलीले भने कटाक्ष गरेका छन् ।

उनले चार दल सम्मिलित मोर्चालाई इंकित गर्दै फरक उद्देश्य भएका तत्वहरू एक ठाउँमा जम्मा भएर राष्ट्रिय शक्ति निर्माण नहुने टिप्पणी गरेका छन् । समाजवादी मोर्चा मात्रै नेकपा एमालसँग मुकाबिला गर्न र कांग्रेसलाई तर्साउन गठन भएको ओलीको टिप्पणी छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top