८असार,एजेन्सी ।
आइसीसी विश्वकप छनोट अन्तर्गत समूह चरणको खेलमा नेपाललाई हराएपछि वेस्टइन्डिजका कप्तान शाइ होपले नेपाली टोलीको प्रशंसा गरेका छन् । प्लेयर अफ द म्याच समेत चुनिएका होपले खेलमा शतक प्रहार गरेका थिए । उनलाई अर्का शतकधारी निकोलस पुरनले राम्रो साथ दिए । नेपालविरुद्ध कमजोर सुरुवात गरेपनि पुरनसँग उत्कृष्ट साझेदारी गर्दै टोलीलाई जिताएका होपले नेपालले राम्रो खेलेको प्रतिक्रिया दिए ।
‘हामीले पहिलो पटक नेपालको सामना गरेका हौं । तर आज नेपालले राम्रो क्रिकेट खेल्यो । आजको दिनमा राम्रो क्रिकेट खेल्न जरुरी थियो । र अलिकति राम्रो खेलेको भए आज उनीहरु विजयी हुने सम्भावना पनि थियो । उनीहरुको प्रयासको प्रशंसा गर्न चाहन्छु । र आफ्नो टोलीको जितमा खुसी पनि छु,’ होपले भनेका छन् ।
नेपालका अधिकांश ब्याटरले सर्ट बलविरुद्ध खेल्न निकै संघर्ष गरेका थिए । कप्तान होपले नेपाली ब्याटरलाई दबाबमा राख्न सर्ट बल प्रयोग गर्ने योजना बुनेको पनि स्वीकारे । ‘हामीलाई सुरुवातमा विकेट चाहिने थियो । विशेषगरी ओपनरलाई दबाबमा राख्न हामीले सर्ट बल प्रयोग गरेका थियौं,’ उनले प्रष्ट पारे । यस्तै होपले आउने खेलमा आफ्नो टोलीको फिल्डीङमा पनि सुधार गर्नुपर्ने बताए ।
नेपालविरुद्ध कमजोर फिल्डीङले टोलीको कमजोरी थाहा भएको र त्यसलाई सुधार गर्नु आवश्यक रहेको उनले बताए । नेपालले पराजय खेपेपनि सुपर ६ मा पुग्ने संभावना जिवितै छ। विश्वकप छनोटमा नेदरल्यान्ड्ससँग ५ विकेटले पराजित हुँदै अमेरिका समूह चरणबाटै बाहिरिने पहिलो टोली बनेको छ ।
समूह ए मा लगातार तेस्रो हारका साथ अमेरिकाको सुपर सिक्स हुँदै विश्वकप खेल्ने सम्भावना समाप्त भएको हो । अमेरिका सुरुवाती तीन खेलमा हारका साथ समूह ए बाट बाहिरिएको हो । अमेरिका पहिलो खेलमा वेस्ट इन्डिजसँग ३९ र नेपालसँग ६ विकेटले पराजित भएको थियो ।
अमेरिकाले अन्तिम खेल सोमबार जिम्बावेसँग खेल्नेछ । यता नेदरल्यान्ड्स पहिलो खेलमा जिम्बावेसँग ६ विकेटले पराजित भएको थियो । नेदरल्यान्ड्सले अव शनिबार नेपाल र सोमबार वेस्ट इन्डिजसँग खेल्नेछ । नेदरल्यान्ड्सलाई पराजित गरेको अवस्थामा नेपाललाई सुपर सिक्समा पुग्नेछ ।