रुसी सेनामा नेपाली,तलब २ लाख, संसदमा उठ्यो प्रश्न

८असार,एजेन्सी ।
युक्रेनमाथि लगातार आक्रमण गरिरहेको रुसी सेनामा पछिल्लो केही समय यता नेपाली युवाहरु समेत भर्ना भएको विषय संसदमा उठेको छ । नेपाली कांग्रेसका सांसद राजेन्द्र बजगाईंले नेपाली युवाहरु कतार प्रहरीदेखि रुसी फौजमा पुगेको कुरा सदनमा उठाएका हुन् । नेपालीहरु कतार प्रहरीदेखि रुसी सेनामा पुगिरहँदा सरकारले उत्तरदायी नभएको बजगाईंको भनाइ थियो ।

Advertisement

उनले शुक्रबार सदनमा भनेका छन्, ‘युक्रेन र रसियामा नेपाली जवानहरु त्यहाँका सेनामा भर्ती भइरहेका भिडियोहरु सार्वजनिक भइरहेको छ । यसमा कुनै दुर्घटना नतिम्तियोस् अथवा भविष्यमा यसले हामीलाई कुनै समस्यामा नपारोस् । सरकार उत्तरदायी हुनुपर्ने परिस्थिति जबरजस्त सिर्जना नहोस् । त्यस्तैगरी कतारले पनि सुसज्जित हतियारसहित नेपाली युवाहरुलाई प्रहरीमा भर्ना गरिरहेको छ ।

त्यसमा पनि सरकारको ध्यान जाओस् ।’ केही नेपालीभाषी युवाहरूले आफू रुसी सेनामा भर्ती भएको भन्दै टिकटकमा भिडिओ हालेपछि बीबीसीले यस सम्बन्धी समाचार प्रकाशन गरेको थियो । बीबीसीका अनुशार नेपालबाट भूतपूर्व सैनिक तथा प्रहरीदेखि वैदेशिक रोजगारीका लागि जान इच्छुक तर अन्य देशमा भिसा नलागेका व्यक्तिहरूले पनि रुसी सेनामा भर्ती हुने इच्छा देखाएका छन्।

Advertisement

टिकटकमा आफू रुसको सेनामा भएको दाबी गर्ने केही नेपाली युवाहरू बन्दुक बोकेर नाचिरहेको भिडिओ देखा पर्न थालेपछि ‘बीबीसीले यसको भेरिफाई’ गरेको बताएको छ । उनीहरूले प्रशिक्षण गरिरहेको भनिएको ठाउँ नयाँ भर्ती भएका सैनिकको आधारभूत तालिम हुने ठाउँ नभई रुसी सैन्य तालिम गर्ने शिविर भएको बीबीसी भेरिफाईका पोल ब्राउनले गरेको अनुसन्धानबाट खुलेको छ।

टिकटक भिडिओमै एक जनाले रुसी सेनामा भर्ना हुन भर्नुपर्ने फारम र अर्का एक जनाले आफूले पाउने पारिश्रमिकसँग सम्बन्धित दस्तावेज सार्वजनिक गरेका थिए। रुसी भाषामा भएका ती दस्तावेज रुसी महासङ्घको रक्षा विभागअन्तर्गत सैन्य एकाइको भएको बीबीसी रसियनले पुष्टि गरेको छ।

Advertisement

रुसी सेनाले प्रस्ताव गरेको तलब तथा सेवासुविधाका कारण नेपाली युवाहरू पनि त्यसमा भर्ती हुन इच्छुक भएको हुनसक्ने अनुमान गरिएको छ । तालिम अवधिभरि उनीहरूलाई मासिक ६०,००० नेपाली रुपैयाँ बराबर पारिश्रमिक दिइने बीबीसीको सम्पर्कमा रहेका युवाहरुले बताएका छन् ।

तालिम सकिएपछि मासिक १लाख ९५ हजार रुबल पारिश्रमिक दिइने लेखिएको सम्झौतामा उल्लेख छ । बीबीसीका अनुशार परराष्ट्र मन्त्रालयकी प्रवक्ता सेवा लम्सालले भने रुसी सेनामा नेपाली युवा भर्ती हुनु “नीतिगत हिसाबमा मिल्ने कुरा नभएको” बताउदै यसबारे कुनै जानकारी नभएको बताएकी छन् ।

गत अक्टोबरमा संयुक्त राष्ट्रसङ्घको महासभामा नेपाल युक्रेनको पक्षमा उभिएको थियो। नेपाली नागरिकलाई भारत र ब्रिटेनको सेनामा बाहके अन्य देशमा भर्ती गरिने गरी सम्झौता भएको पाइदैन । तर पछिल्लो समय रुसबाहेक फ्रान्स, अमेरिका र युक्रेनको सैन्य बलमा समेत नेपालीहरूको भर्ती भएको पाइन्छ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top