११ असार,काठमाण्डौ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल र चिनियाँ राजदूत छन् सोङबीच भेटवार्ता भएको छ । राजदूत सोङ प्रधानमन्त्री दाहाललाई भेट्न सोमबार बिहान साढे ९ बजे बालुवाटार पुगेका थिए । उनीहरूबीच करिब एक घन्टा छलफल भएको बताइएको छ ।
उनीहरूबीच बिआरआई परियोजना र हालै पोखरामा सम्पन्न ड्रायगन फेस्टिभलका विषयमा छलफल भएको थियो । राजदूत छन् सोङले पछिल्लो समय नेपालमा गइरहेको बाढी पहिरोको विषयमा प्रधानमन्त्री दाहालसँग जानकारी लिएका थिए । उ
नले सम्भावित प्राकृति विपत्तिमा चीन सधैं साथ रहने प्रतिवद्धता जनाएका थिए । भेटवार्तामा प्रधानमन्त्री दाहालको चीन भ्रमणका विषयमा पनि छलफल भएको थियो । मिति तय नभए पनि परराष्ट्र मन्त्रालय र चिनियाँ दूतावासले भ्रमणको तयारी गरिररहेको बुझिएको छ ।
यसैबीच माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष तथा उपप्रधान एवम गृहमन्त्री नारायणकाजी श्रेष्ठ चीन भ्रमणमा जाने भएका छन् । आगामी मङ्गलवार चार दिने भ्रमणको क्रममा उनी चीन जान लागेका हुन् । यो उनको पहिलो विदेश भ्रमण हुनेछ ।
चीनको छेन्दुमा हुने एक व्यापार मेलामा सहभागी हुन उनी त्यसतर्फ जान लागेको उनको सचिवालयले जनाएको छ । श्रेष्ठको सचिवालयका अनुसार ७ सदस्यीय टोलीसहित उनी चीनको छेन्दु शहरमा जान लागेका हुन् । उनको टोलीमा गृह मन्त्रालयका सहसचिवसहितको प्रतिनिधित्व रहने जनाइएको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहालले आफ्नो पहिलो विदेश भ्रमण भारत गरेको बेलामा गृहमन्त्री श्रेष्ठले भने चीन भ्रमण गर्न लागेका हुन् । पछिल्लो समय चीनले माओवादी केन्द्रका नेताहरुलाई पनि चीन भ्रमण गराएको थियो । उक्त भ्रमण दलको नेतृत्व भने पूर्व सभामुख अग्निप्रसाद सापकोटाले गरेका थिए।
माओवादीका नेताहरुको चीन ओहोरदोहोर चलिरहँदा र प्रचण्डको पनि भ्रमणको तयारी चलिरहँदा यहीबीच माओवादी केन्द्र, नेकपा एस, जसपा, नेकपा लगायतका दलहरुको मोर्चा गठन भएको छ ।
प्रचण्डले चीन भ्रमण जानुअघि चीनले चाहेकोजस्तै फेरि बाम एकताको पहल गरिएको सन्देश दिने गरि मोर्चा गठन गरेको पनि विश्लेषण छ । प्रचण्ड यही मोर्चाको आडमा आफ्नो सरकार टिकाउने र त्यसमा चीनको पनि सदासहायता रहिरहोस् भन्नेमा छन् ।
भारत भ्रमणका बेला गेहरु वस्त्र लगाएर उनले मोदीको पनि मन जित्ने प्रयास गरेको चर्चा छ । यि सबका बीच काठमाडौंमा भने एमाले र काँग्रेसले नयाँ गठबन्धन बनाउँने तयारी गरेको चर्चा छ, जसलाई काँग्रेस महामन्त्री गगन थापाले शनिबार मात्रै चित्त नबुझे अहिलेको गठबन्धन तोडेर नयाँ गठबन्धनको सरकार बनाउँने भन्दै दिएको अभिब्यक्तिले संकेत गरेको छ ।
तर आज फेरि प्रचण्डले धादिङको गजुरीमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै सत्तारुढ गठबन्धनका नेताहरु र प्रतिपक्षी दलसँग पनि भएको कुराकानीका आधारमा आफू गठबन्धन ५ वर्षसम्म टिक्के कुरामा विश्वस्त रहेको बताएका छन् ।
शुक्रबार सिंगापुरबाट फर्किएका काँग्रेस सभापति शेरबहादुर देउवाले सत्ता गठबन्धनको बैठकमा हालको गठबन्धन तोड्ने कुरामा सत्यता नभएको बताएपछि प्रचण्ड ढुक्क भएका हुन् ।