१७ असार, काठमाण्डौ ।
लामो समयदेखि अनुशन्धान भईरहेको र पछिल्लो समय जग्गा अपचलनको विषय अदालतमा विचाराधीन भएको बहुचर्चित बालुवाटारको ललिता निवासको जग्गाको अब काठमाडौं महानगरले संरक्षण गर्ने भएको छ । महानगरपालिकाले ललिता निवासको जग्गामा तारबार गर्ने भएको हो ।
आइतबार महानगर प्रहरीको एक टोली बालुवाटार पुगेको छ । जग्गा हिनामिना प्रकरण छानबीन भइरहेको बेला काठमाडौं महानगरपालिको टोली सो क्षेत्र घेरबार गर्न पुगेको हो । अहिले ललिता निवासको जग्गा यकीन गर्ने र पछि तारबार गरिने महानगर प्रहरीले जनाएको छ । मेयर बालेन शाहको निर्देशनपछि महानगरीय प्रहरी बलको टोली ललिता निवासमा घेरबार गर्न पुगेको हो ।
महानगर प्रहरीले ललिता निवास क्षेत्रको सार्वजनिक जग्गामा बनेको अस्थायी टहरा हटाउन निर्देशन दिएको छ । महानगर प्रहरी निरीक्षक ईश्वर वाग्लेका अनुसार ललिता निवासले चर्चेको सार्वजनिक जग्गामा बनेको सबै अस्थायी संरचना हटाएर कम्पाउण्डिङ गर्ने तयारी गरेको हो ।
‘सार्वजनिक जग्गामा बनेको अस्थायी संरचना जति खाली गरेर अहिले कम्पाउण्डिङ गर्ने र ठूला तथा पक्की संरचनामा अर्को निर्णय गरेर कारबाही गर्ने आदेश भएको उनले बताएका छन् । ललिता निवासको जग्गामा हाल करिब २५ वटा साना टहरा बनाएर गोदामघर, पसल आदि सञ्चालनमा रहेका छन् ।
‘उहाँहरुलाई हट्न भनेका छौं, त्यसपछि हामी तारबार लगाउँछौं,’ वाग्लले भनेका छन् । ललिता निवासको करिब १४३ रोपनी सरकारी जग्गा व्यक्तिको नाममा गरेको अभियोगमा १७५ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा चलिरहेको छ । त्यस्तै यो जग्गा व्यक्तिको नाममा नामसारी गर्ने क्रममा सरकारी कागजात कीर्ते गरेको आरोपमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीले पनि अनुसन्धान गरिरहेको छ ।
सीआईबीले यो काण्डमा सरकारी कर्मचारी, व्यवसायी, भू–माफियासहित ४ सय जनाविरुद्ध ठगी र किर्तेमा मुद्दा दायर गर्नुपर्ने निष्कर्ष निकालेको छ । पछिल्लो समय मात्रै सिआईबीचले ७ जनालाई यो जग्गाको कीर्ते गरेको अभियोगमा पक्राउ गरेको थियो । जसमा ३ जना छुटेका छन् भने बााकी ४ जना प्रहरी हिरासतमा नै रहेका छन् । केही दिन अघि मात्रै महानगरले खुल्लामंचमा बनेका संरचनाका कंक्रिट हटाएको थियो ।