१८ असार, काठमाण्डौ ।
देशका केही भू–भागमा आज पनि वर्षाको सम्भावना रहेको छ । सातवटै प्रदेशमा वर्षाको सम्भावना रहेको छ । कोशी र मधेश प्रदेशका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित भारी वर्षाकोसमेत सम्भावना रहेको छ । त्यसैले सडक तथा हवाई यातायात, स्वास्थ्य, कृषि, पर्यटनलगायत क्षेत्रहरू प्रभावित हुनसक्ने बताइएको छ ।
भारी वर्षा, मेघगर्जन÷चट्याङ, गेग्रान बहाव, बाढी, पहिरो तथा भू–क्षयका कारण हुनसक्ने जोखिम वा क्षतिबाट बच्न आवश्यक सतर्क रहन जल तथा मौसम विज्ञान विभागले जनाएको छ । आज बिहान देशभर आंशिकदेखि सामान्य बदली रहेको छ । कोशी, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशको केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।
विभागका अनुसार आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ । कोशी, मधेस, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थान तथा बाँकी प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । कोशी र मधेस प्रदेशको एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित भारी वर्षाको सम्भावना रहेको छ ।
आज राति देशभर आंशिकदेखि सामान्य बदली रहनेछ । कोशी, मधेस, वाग्मती र गण्डकी प्रदेशका केही स्थानहरू तथा बाँकी प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । कोसी, गण्डकी र लुम्बिनी प्रदेशका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित भारी वर्षाको सम्भावना रहेको विभागले जनाएको छ ।
मधेस प्रदेशलगायत वाग्मती र कोसी प्रदेशका तराईका थोरै स्थानमा हावाहुरीको समेत सम्भावना रहेको छ । आगामी तीन दिन ठूला नदीमा जलसतह बढ्ने भएको छ । कोशी, नारायणी, कर्णाली, महाकाली, कन्काई, कमला, वाग्मती, पूर्वीराप्ती, पश्चिमराप्ती, बबई र यसका सहायक नदीहरूमा जलसतह बढ्ने बाढी पूर्वानुमान महाशाखाले जनाएको छ ।
यद्यपि, जलसतह सतर्कता तहभन्दा तलै रहने पूर्वानुमान रहेको छ । महाशाखाका अनुसार आज इलाम, झापा, पाँचथर र आसपास भएर बहने साना नदी तथा खोलाहरू जलसतह बढ्नेछ । केहीमा आकस्मिक बाढीको समेत पूर्वानुमान रहेकाले नदी तथा खोलाको तटीय क्षेत्रमा बस्नेहरूले विषेश सतर्कता अपनाउनु पर्नेमा महाशाखाको जोड छ ।यसैबीच पहिरो पन्छाएपछि नारायगढ–मुग्लिन सडक दुइतर्फी सवारीसाधन सञ्चालन गर्न मिल्नेगरी खुलेको छ।
इलाका प्रहरी कार्यालय (मुग्लिन) का अनुसार चितवनको इच्छाकामना–५ स्थित तीन नम्बर पुलमा आज बिहान पुनः पहिरो खसेपछि सडक दुवैतर्फ बन्द भएको थियो। यसअघि शनिबार रातिदेखि बन्द सडक झण्डै १८ घण्टापछि आइतबार साँझपख मात्रै खुलेको थियो। सोही स्थानमा गत आइतबारदेखि पटकपटक पहिरो खस्दा सडक बन्द हुने सिलसिला जारी छ।