१९ असार, एजेन्सी ।
रोबोटले कारखाना चलाउनेदेखि रेष्टुरेन्ट सेवा, गाडी चलाउनेदेखि पार्किङ, हुँदै विरामीको अपरेशन, मनोरंजन लगायत यस्तो कमै क्षेत्र होला जहाँ रोबोटले मानिसलाई सहजसंगै विस्थापित पनि गर्दै आएको छ । यस्तोमा अब रोवोटले विद्यार्थीहरुलाई पढाउने पनि भएको छ, त्यो पनि औपचारिक तवरमा।
अमेरिकाको विश्व प्रसिद्ध हार्वर्ड विश्वविद्यालयले आउँदो सेमेष्टरदेखि यन्त्र मानव अर्थात् रोबोटलाई एउटा कक्षा पढाउन दिने तयारी गरेको छ । कृत्रिम विद्वता (एआई — आर्टिफिसिएल इन्टेलिजेन्स)लाई आफ्नो पाठ्यक्रममा समाहित गराउने सो विश्व विद्यालयको निर्णयअनुसार कम्प्युटर कोडिङको एउटा कक्षा रोबोटले चलाउने भएको हो ।
सन् २०२२ को नोभेम्बर महिनाबाट सुरु भएको आफैँले सोचेर उत्तर दिनसक्ने च्याट जीपीटी कम्प्युटर प्रोग्रामजस्तै विद्यार्थीलाई कोडिङको ज्ञान सिकाउन उक्त विश्व विद्यालयले रोबटको प्रयोग गर्ने जनाएको छ । हार्वर्डको अत्यन्तै रुचाइएको कम्प्युटर प्रोग्रामिङको कक्षा सीएस ५० को कक्षामा रोबटको प्रयोग गर्ने सुरसार भएको विभिन्न सञ्चार माध्यमले जनाएका छन् ।
उक्त विषयका प्राध्यापक डेभिड जे. मलनलाई उधृत गर्दै प्रकाशित समाचारका अनुसार यस्तो व्यवस्था गर्दा प्रत्येक विद्यार्थीका लागि एक शिक्षक प्राप्त भएसरह हुने र हरेक विद्यार्थीले आफ्नो क्षमता र रुचिअनुसार प्रगति गर्नसक्ने छन् । ए
आईको प्रयोगले अमेरिकाजस्तो विकशित देशमा कम्प्युटर विज्ञानमा धेरैको जागिर धरापमा पारेको छ भने पत्रकारिता तथा बौद्धिक सामग्री उत्पादन गर्ने पेशालाई पनि संकटमा पार्दै गएको छ ।
यस्तो एआईले पढाउने कक्षामा ओपन ए आई श्रोतमा उपलब्ध विकशित जीपीटी ३.५ वा ४ मोडल प्रयोगमा ल्याइने पनि मानव शिक्षकले जनाएका छन् । यो कार्यक्रम आउँदो सेप्टेम्बर महिनाको सेसन देखि कक्षा कोठामा प्रयोगमा ल्याइने पनि सो विश्व विद्यालयले जनाएको छ ।