२२ असार,काठमाण्डौ ।
नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहालले भारत भ्रमणमा गएका बेला भारतीय गुप्तचर प्रमुखसँग भेटेर आएको बताएका छन् । शुक्रवार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
उनले प्रधानमन्त्री दाहाल भारत भ्रमणका क्रममा भारतीय गुप्तचर प्रमुखकै घरमा गएर बसेको दाबी समेत गरेका छन् । उनले उक्त भेट पनि प्रधानमन्त्रीले लुकाएको आरोप लगाएका छन् । उनले भारतीय गुप्तचर प्रमुख नेपालमा आएका बेला आफूले सार्वजनिक रुपमै भेटेको र कुनै कुरा नलुकाएको बताए ।
उनले प्रधानमन्त्री दाहालले भारत भ्रमणका क्रममा गुप्तचर प्रमुखकै घरमा भेटेको कुरा लुकाएर राष्ट्रहीतका पक्षमा कुनै कुरा नगरेको बताएका छन् । यसअघि हिजो मात्रै नेकपा(माओवादी केन्द्र)ले पार्टी अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सरदार प्रितम सिंहबारे दिएको अभिव्यक्तिको बचाउ गर्दै ओलीले रअ प्रमुखसँग भेटेको विषय झिकेको थियो ।
पार्टी उपाध्यक्ष एवं प्रवक्ता कृष्णबहादुर महराले जारी गरेको विज्ञप्तिमा प्रधानमन्त्रीको सदाशयतालाई दुराशयमा बदल्न खोज्नु प्रमुख प्रतिपक्षको गलत चाहना पूरा गर्ने अभिष्टताबाहेक केही नभएको बताएका छन् ।
विज्ञप्तिमा भनिएको छ, “मध्यरातमा ‘रअ’ प्रमुखसँग बालुवाटारमा भेटेर पटकपटक संसद् विघटन गर्ने, जनताका मुद्दामा कानुन बनाउन खोज्दा संसद् अवरोध गर्ने, भ्रष्टाचारीको छानविन र फाइल खोल्दा गैरजिम्मेवार बन्ने जस्ता पात्र र प्रवृत्तिले गर्दा प्राप्त राजनीतिक उपलब्धिमाथि प्रहार भइरहेको तथ्य नेपाली जनताले बुझिसकेका छन् ।” अध्यक्ष ओलीले नेपालमा बहुदलिय व्यवस्था छ तर लोकतन्त्र र कानूनी राज नरहेको जिकिर गरेका छन् ।
उनले नेपालको प्रधानमन्त्री नेपाली जनता र नेपाली संसदबाट नचुनिएको प्रधानमन्त्री दाहालको अभिव्यक्तिले लोकतन्त्र, देश र सार्वभौम सत्तामाथिथ ठट्टा गरिएको बताए । उनले छिमेकी देशलाई समेत विवादमा तान्ने प्रयास गरिएको बताएका छन् ।
नेपाली जनतामा रहेको सार्वभौम सत्ताको मजाक गर्न नमिल्ने भन्दै प्रधानमन्त्रीले राजीनामा गर्नुपर्ने र सत्तापक्षसँग कुनैपनि स्थानमा भेट्न तयार रहेको बताए । अध्यक्ष ओलीले कोही प्रदेशमा सरकार गठनको नाममा लगातार संविधान मिचिएको पनि बताएका छन् ।
उनले सभामुखसहितको हस्ताक्षर बुझाएर सरकार गठन गर्नेकुरा उचित नरहेको बताए । अहिलेको कोशी प्रदेश सरकार संघबाट दिएको निर्देशनअनुसार चलेको र संविधानको बर्खिलापमा गएको उनले बताएका छन् ।
अध्यक्ष ओलीले सत्ता गठबन्धनले देशका हितहरुलाई जन्मदिनको केक झैँ काटेको पनि बताएका छन् । अध्यक्ष ओलीले बालुवाटार, शीतलनिवास लगायतका अनियमतताका घटनाहरुको सत्यतथ्य छानबिन गर्न एमाले तयार रहेको पनि बताएका छन् ।