२७ असार,एजेन्सी ।
भारतको एक टेलिभिजनले आर्टिफिसिसल इन्टेलिजेन्स (एआई)बाट समाचार वाचन सुरु गरेको छ । आर्टिफिसियल इन्टेलिजेन्सको सहायताले भारतको ओडिसा टेलिभिजनले यस्तो सुरुवात गरेको हो । ओडिसा टेलिभिजन आर्टिफिसियल इन्टेलिजेन्सबाट समाचार वाचन गर्ने दक्षिण एसियाको पहिलो टेलिभिजन भएको छ ।
सारी पहिरिएकी कृत्रिम महिला एङ्करले टेलिभिजन र नेटवर्कको अनलाइन मिडियामा समाचार पढिरहेकी छिन्। च्यानलको यो पहललाई एआईको बढ्दो उपयोगिताको उदाहरणका रूपमा हेरिएको छ । भारतको यस्तो पहलले देशका विभिन्न मिडिया समूहलाई पनि प्रेरणा दिने विश्वास गरिएको छ । च्यानलले आफ्नो भर्चुअल न्यूज एन्करको नाम लिसा राखेको छ ।
उनी अन्य भाषाहरू पनि बोल्न सक्छिन्, तर अहिलेका लागि उनी ओडिया र अंग्रेजीमा मात्र समाचार पढ्नेछिन्। समाचार सही र प्रभावकारी रूपमा प्रस्तुत गर्न लिसाले पत्रकारितासँग प्रविधिको संयोजन गर्दैछिन्। उनलाई अरुसँग सजिलै कुरा गर्न सकोस् भनेर कम्पनीले थप उच्चस्तरीय कामका लागि तालिम दिने प्रयास गरिरहेको छ ।
अप्रिलको सुरुमा, कुवेत न्यूजले आफ्नो एआई समाचार प्रस्तुतकर्ताबाट समाचार पढाएको थियो । जसको नाम फइदा राखिएको थियो । यो जानकारी कुवेत न्यूज र कुवेत टाइम्सले आफ्नो ट्विटर फिडमा दिएको छ । डिजिटल मिडियाको युगमा यसलाई नयाँ युगको सुरुवात भएको मानिन्छ ।
अन्य क्षेत्रजस्तै सञ्चार क्षेत्रले पनि प्राविधिक परिवर्तनको आवश्यकता निरन्तर महसुस गरिरहेको छ ।आजकल मानिसहरू इन्टरनेटको माध्यमबाट टेलिभिजन पनि हेरिरहेका छन् र इन्टरनेटमा मात्र बढी समय खर्च गरिरहेका छन्। यस्तो अवस्थामा मिडियाले पनि भर्चुअल कन्टेन्टलाई प्राविधिक रूपमा निरन्तर अपडेट गर्दै आइरहेका छन् ।
यो नयाँ प्रविधि चकित पार्ने र ध्यानाकर्षण गराउने भए पनि यससँग रोजगारीको चिन्ता पनि जोडिएको छ । एआईको द्रुत बृद्धिसँगै प्रविधिले निम्त्याएको खतराले पनि मानिसहरूलाई सताइरहेको छ। यसले नराम्रो वा गलत सूचना र प्रचार प्रसारको सम्भावना बढे पनि सञ्चार क्षेत्रको रोजगारीमा प्रतिकूल असर पर्ने सम्भावनालाई नकार्न सकिँदैन ।