विराटनगर, भदौ २०
नेपालले बङ्गलादेशमा जारी साफ च्याम्पियनसिप फुटबल प्रतियोगिताअन्तर्गत आफ्नो दोस्रो खेलमा आज भुटानसँग प्रतिस्पर्धा गर्दैछ ।खेल नेपाली समयअनुसार दिउँसो ३ः४५ बजे ढाकाको बङ्गबन्धु नेशनल स्टेडियममा हुनेछ । मङ्गलबार भएको पहिलो खेलमा पाकिस्तानसँग २–१ गोलअन्तरले पराजित भएको नेपाललाई प्रतियोगिताको अघिल्लो चरण प्रवेशका लागि पनि नेपाललाई भुटानविरुद्धको खेल जित्नै पर्ने दबाब छ ।
भुटानविरुद्धको खेलमा नेपालले अहिलेसम्म हार बेहोरेको छैन । सन् २००३ मा बंगलादेशको राजधानी ढाकामा सम्पन्न साफ च्याम्पियनसिपमा नेपालले भुटानलाई २–० गोलअन्तरले पराजित गरेको थियो । त्यस्तै, सन् २००५ मा पाकिस्तानको कराँचीमा सम्पन्न साफ च्याम्पियनसिपमा भुटानलाई नेपालले ३–१ गोलअन्तरले पराजित गरेको थियो ।
नेपालविरुद्धको खेलमा भुटानका २२ वर्षीय फरवार्ड चेन्चो ग्याल्जेन मुख्य हतियार हुनेछन् । चेन्चो भारतीय आइ लिग क्लबबाट व्यावसायिक फुटबल खेल्ने गर्दछन् । बंगलादेशविरुद्धको खेलमा उनी बंगाली डिफेन्डरको मार्कमा रहँदा खुलेर खेल्न सकेको थिएन ।भुटानका प्रशिक्षक ट्रिभोर मोर्गानले दुवै टोलीले पहिलो खेल गुमाएका कारण खेल खुल्ला हुने बताएका छन् ।
समूह ‘ए’ मा नेपाल र भुटान अंकविहीन हुदा बंगलादेश र पाकिस्तानले समान ३ अंक जोडेका छन् ।च्याम्पियनसिपमा समूहको शीर्ष दुई टोलीले अन्तिम चार भित्र (सेमिफाइनल) स्थान बनाउनेछन् । यसअघिका प्रतियोगितामा नेपाल चार पटक सेमिफाइनलमा पुगेको छ ।