जब विमान चढ्न लागेका ११७ श्रमिकलाई रोकियो….

२८ असार, एजेन्सी ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयले कुवेत जान लागेका ११७ जना श्रमिकलाई विमानस्थलबाट फिर्ता गरिदिएको छ। उनीहरुको भिसा शंकास्पद भएको र उनीहरु ‘प्रतिबन्धित’काममा जान लागेको समेत आशंका भएकोले उनीहरुलाई फर्काइएको हो।

Advertisement

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयका सूचना अधिकारी झंकनाथ ढकालका अनुसार बुधबार र बिहीबारका फरक फरक उडानबाट जान लागेका ११७ जनालाई फर्काइएको हो। ढकालका अनुसार यसरी शंकास्पद रुपमा जान लागेका श्रमिकहरुलाई रोक्ने क्रम पछिल्ला केही दिनदेखि जारी छ।

अध्यागमन कार्यालयले सलाम एयरमार्फत बुधबार साँझ कुवेत जान लागेका १०१ जना र बिहीबार बिहान कुवेत एयरमार्फत जान लगेका १६ जना श्रमिकलाई विमानस्थलबाट फर्काएको हो। ढकालका अनुसार उनीहरुले साथमा बोकेका कागजातहरु शंकास्पद थिए।

Advertisement

केही कागजातमा एउटा काम लेखिएको तर अर्कै काममा जान लागेको, केहीको दूतावासमार्फत श्रम स्वीकृतिका लागि पठाइएको पत्र शंकास्पद देखिएको थियो। उनीहरुले साथमा बोकेका कागजातमा उनीहरुले गर्ने काम अर्कै लेखिएको तर अध्यागमनका अधिकारीहरुले सोधपुछ गर्दा उनीहरुले अर्कै काम गर्न जान लागेको जवाफ दिएपछि अधिकारीहरुलाई शंका लागेको थियो।

कागजातमा लेखिएका कुरा र सोधपुछमा उनीहरुले बताएका कुरा बाझिएपछि उनीहरुलाई रोकिएको हो। यी सबै कामदारहरुले वैदेशिक रोजगार विभागबाट श्रम स्वीकृति पनि लिइसकेका थिए । तर, उनीहरुमध्ये केहीसँग हातमा अर्कै भिसा र लगेजमा अर्कै भिसा समेत पाइएको थियो। यसरी रोकिएकामध्ये धेरै महिला पनि छन्। उनीहरुलाई घरेलु श्रमिकका रुपमा कुवेत लैजान लागिएको आशंका गरिएको छ।

Advertisement

नेपालबाट अहिले घरेलु श्रमिकको रुपमा काम गर्न कुवेत जान पाइँदैन। ढकालका अनुसार यो मामिलामा अध्यागमन विभागसँगै श्रम मन्त्रालय, गृह मन्त्रालय पनि जोडिने भएकोले सम्बन्धित मन्त्रालयसँग छलफल भइरहेको छ। यसरी एउटा भिसा देखाएर अर्कै काममा जाँदा उनीहरु असुरक्षित हुने, बीमा दावी नपाउने जस्ता समस्या हुने भएकोले उनीहरुलाई रोकिएको ढकालले बताए।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top