११ साउन, एजेन्सी ।
सगरमाथासहित विश्वका ८ हजार मिटरभन्दा अग्ला १४ वटा हिमाल छोटो समयमा आरोहरण गरेका दुई आरोहीले नयाँ कीर्तिमान बनाएका छन् । नेपाली पर्वतारोही तेन्जिङ शेर्पा (लामा) र नर्वेजियन पर्वतारोही क्रिस्टिन हरिलाले ९२ औं दिनमा १४ हिमालको आरोहण गरेर नयाँ कीर्तिमान कायम गरेका हुन् ।
काठमाडौंस्थित सेभन समिट ट्रेक्सका अध्यक्ष मिग्मा शेर्पाका अनुसार, उनकै कम्पनीमा गाइडका रुपमा कार्यरत तेन्जिङ र क्रिस्टिनले बिहीबार बिहान पाकिस्तानमा रहेको विश्वकै दोस्रो अग्लो हिमाल केटू आरोहण गरेका थिए । योसँगै उनीहरुले ९२ औं दिनमा संसारकै १४ वटा ८ हजार मिटरभन्दा अग्ला हिमाल सबैभन्दा छिटो आरोहण गरेको रेकर्ड बनाएका छन् ।
यसअघि निर्मल पुर्जाले विश्वकै १४ अग्ला हिमाल ६ महिना ६ दिनमा आरोहण गर्दै ‘सबैभन्दा छिटो आरोहणको कीर्तिमान’ बनाएका थिए । पुर्जाको कीर्तिमानलाई नेपाली आरोही तेन्जिङ शेर्पा र नर्वेजियन पर्वतारोही क्रिस्टिन हरिलाले ९२ औं दिनमा सकेर नयाँ कीर्तिमान बनाएका हुन् । ‘निर्मल पुर्जाको रेकर्ड संखुभासभाका तेन्जिङ र नर्वेकी आरोही क्रिस्टिनले तोडेकी छन्, ।
नेपाली मूलका निर्मल पुर्जाले नागरिकता त्यागिसकेकाले विश्वकै १४ वटा हिमाल सबैभन्दा चाँडो आरोहण गर्ने तेन्जिङ अब एक मात्र नेपाली भएका छन् । विश्वकै १४ औं अग्लो हिमाल सिसापाङमा वैशाख १३ गते आरोहण गर्दै यी दुईले आरोहण यात्रा थालनी गरेका थिए ।
विश्वका १४ अग्ला हिमाल आरोहण गर्ने करिब ४ दर्जन आरोहीमध्ये थोरै महिला छन् । जसमा ३७ वर्षीया क्रिस्टिन पनि परेकी छन् । आरोहणअघि उनी क्रस–कन्ट्री स्कीकी खेलाडी थिइन् । एजेन्सीहरुका अनुसार, हिमाल आरोहणमा उनी ८ वर्षयता मात्रै संलग्न भएकी हुन् ।
विश्वका ८ हजार मिटर भन्दा अग्ला उच्च हिमालमा :
१ सगरमाथा
२ के२
३ कञ्चनजङ्घा
४ ल्होत्से
५ मकालु
६ चो यु
७ धौलागिरी प्रथम
८ मनास्लु
९ नङ्गा पर्वत
१० अन्नपूर्ण (प्रथम)
११ ग्यासरब्रम १
१२ ब्रोड शिखर
१३ ग्यासरब्रम २
१४ शिशापाङ्मा
रहेका छन् ।