१८ साउन, काठमाण्डौ ।
राष्ट्रिय प्रजातन्त्र पार्टीले ४० वर्षमुनिका युवालाई नेतृत्व तहमा लैजान आवेदन माग गरेको छ । नवीन राप्रपा अवधारणाअन्तर्गत पार्टीलाई युवामैत्री बनाउन २० केन्द्रीय सदस्य पदका लागि देशभरबाट खुल्ला आवेदन माग गरिएको हो । सदस्य बन्न चाहने उम्मेदवारले आफ्नो व्यक्तिगत विवरण तथा कार्ययोजना आउँदो भदौ पहिलो हप्तासम्म केन्द्रमा पठाउनुपर्ने छ ।
कार्ययोजना दिएका उम्मेदवारमध्येबाट भूगोल, जनसङ्ख्या, पार्टीको प्रभाव क्षेत्र विस्तारको सम्भावना र नेतृत्व विकासका सम्भावनाको आधारमा न्यूनतम ५० प्रतिशत महिलासहित २० जनालाई केन्द्रीय सदस्यमा मनोनयन गरिने केन्द्रीय सदस्य सरस्वती अधिकारीले जानकारी दिइन् ।
पार्टीमा रहेका तथा पार्टी बाहिर रहेका नेपाली नागरिकले प्रतिस्पर्धाबाट छनोट भएपछि पार्टीको नीति, सिद्धान्त, एजेण्डा र उद्देश्यप्रति प्रतिबद्ध रही सक्रिय राजनीति गर्नुपर्ने व्यवस्था गरिएको छ । सूचना प्रविधि र सामाजिक सञ्जाल परिचालनमा दक्ष, बहुभाषाको ज्ञान भएको, प्रत्यक्ष चुनावमा पार्टीको उम्मेदवार बन्न सक्ने क्षमतावान उम्मेदवारलाई उनीहरूको कार्ययोजनाका आधारमा छनोट गरिने जनाइएको छ ।
कार्ययोजना पठाउन पार्टीको इमेल ठेगानामा करिब एक महिनाको अवधि निर्धारण गरिएको छ ।०८४ को निर्वाचनका लागि अन्य राजनीतिक दलहरुल सांगठानिक संरचनालाई बलियो बनाउँदै पार्टी सदस्य थप बढाउन विभिन्न रणनीति बनाइरहेका बेला राजसंस्था र हिन्दू राष्ट्रको वकालत गरिरहेको राप्रपाले पार्टीमा युवाको आकर्षण बढाउन खुल्ला रुपमा आवेदन माग गरेको छ ।