२० साउन, एजेन्सी ।
पृथ्वीबाट पठाइएको गलत निर्देशनका कारण गत महिनादेखि सम्पर्कबाहिर रहेको अन्तरिक्ष यान भोइजर टू पुन सम्पर्कमा आएको छ । अमेरिकी अन्तरिक्ष निकाय (नासा) को गलत निर्देशनका कारण सम्पर्कबाहिर पुगेको सो यानसँग पुनः सम्पर्क भएको नासाले जनाएको छ । भोइजर टू पृथ्वीबाट अर्बौँ माइल टाढा रहेको छ ।
नासाका वैज्ञानिकहरुले समस्या समाधान गरेपछि ४६ वर्षदेखि अन्तरिक्षमा रहेर अनुसन्धानमा सघाइरहेको भोइजर टू सम्पर्कमा आएको हो । गलत सन्देश पठाइएका कारण पृथ्वीको अर्कोतर्फ फर्किएको भ्वायजर टू को एन्टेना पहिलेकै अवस्थामा फर्काउन नासाले अष्ट्रेलियामा रहेको शक्तिशाली रेडियो एन्टेनाको प्रयोग गरेको हो ।
पृथ्वीबाट १९.९ अर्ब किलोमिटरभन्दा टाढा रहेको भोइजर टू मा पृथ्वीबाट पठाएको सन्देश पुग्न १८ घण्टा र त्यहाँबाट पृथ्वीमा सन्देश आइपुग्न पनि १८ घण्टा नै लाग्छ । त्यहाँ उक्त उक्त यान ताराहरूको बीचको भागमा ५५,३४६ किलोमिटर प्रतिघण्टाको गतिमा अगाडि बढिरहेको छ । सन् १९७७ मा प्रक्षेपण गरिएको भोइजर टू ले वृहस्पति र शनिसहित चन्द्रमाहरुको अनुसन्धानका लागि महत्त्वपूर्ण सन्देशहरु पठाइरहेको थियो।
भोइजर वान र भ्वायजर टू एकै वर्ष अन्तरिक्षमा पठाइएका थिए । यी दुवै अन्तरिक्षबाट सबैभन्दा टाढा रहेका अन्तरिक्ष यान हुन् । भोइजर टू ले केही समयदेखि सूर्यबाट बाहिर निस्कने अत्यधिक ऊर्जावान आयनहरू मिलेर बनेको इन्टर स्टेलर स्पेसको अन्वेषण गरिरहेको छ । गत जुलाई २१ यता उक्त यानले ’कमान्ड’ लिन वा नासाको ’डीप स्पेस नेटवर्क’लाई डेटा पठाउन सकिरहेको थिएन ।
नासाको उक्त सञ्जालअन्तर्गत संसारभरि ठूला रेडिओ एन्टेनाहरू जडान गरिएको छ । तर भोइजर टूले पृथ्वीमा रहेका कन्ट्रोलरहरूले पठाएको निर्देशन लिइरहेको छैन । सीमित सम्पर्क पुनर्स्थापित भएसँगै अब यसबाट सूचना आदानप्रदान हुने आशा वैज्ञानिकहरूले गरेका छन्। नासाले भोइजर टूले अहिले पनि “राम्रो अवस्थामा“ सङ्केतहरू प्रसारण गरिरहेको जनाएको छ ।
यसबीचमा वैज्ञानिक उपकरणहरू जडित उक्त अन्तरिक्षयान ब्रह्माण्डमा योजनाबद्ध मार्गमा रहने नासाको अपेक्षा छ । भोइजर टू र सँगसँगै बनेको भोइजर वनले मात्र अहिलेसम्म ’हेलिओस्फिअर’ र समग्र सौर्यमण्डलबाहिर रहेर काम गर्न सकेका छन् । सूर्यबाट उत्पन्न कणहरूको सुरक्षात्मक घेरा र चुम्बकीय क्षेत्रलाई हेलिओस्फिअर भनिन्छ ।
ती दुई यान ’इन्टर्स्टेलर स्पेस’ अर्थात् ताराहरूबीचको अन्तरिक्षमा क्रमशः सन् २०१८ र २०१२ मा पुगेका थिए । ती यानलाई सौर्यमण्डलका “बाह्य ग्रहहरू“को दुर्लभ एकत्रीकरणबाट लाभ हुनेगरी बृहस्पति र शनि ग्रहको अन्वेषण गर्न बनाइएको थियो । त्यस्तो अवस्थिति १७६ वर्षमा हुने गर्छ ।
भोइजर टू वरुण र अरुणको अगाडिबाट यात्रा गर्ने एक मात्र अन्तरिक्षयान हो । अहिले पृथ्वीबाट २४ अर्ब किलोमिटरभन्दा पर अवस्थित भोइजर वन सबैभन्दा टाढा पुगेको अन्तरिक्षयान हो । ती प्रत्येक यानमा पृथ्वीका कुरा “बाह्य संसार“ लाई थाहा दिन सकिनेगरी पृथ्वीका ध्वनि, तस्बिर र सन्देशहरू भएको एउटा ’गोल्डन रेकर्ड’ राखिएको छ ।