२१ साउन, काठमाण्डौ ।
भारतले नेपालका लागि चामल र विस्फोट पदार्थ निर्यात खुला गर्ने भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँगको टेलिफोन वार्तामा चामल र विस्फोटक पदार्थ नेपाल निर्यात गर्न भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी सहमत भएका हुन् । शनिबार दिउँसो प्रचण्ड र मोदीबीच टेलिफोन वार्ता भएको थियो ।
सो वार्तामा नेपाल–भारतबीच आपसी हितका विविध विषयमा समीक्षा गरिएको थियो । सोही क्रममा ‘प्रधानमन्त्री दाहालले भारतले नेपालमा चामल आयातमा लगाएको प्रतिबन्धबारे चासो राखेको उनका प्रेस सल्लाहकार गोविन्द आचार्यले बताए । जवाफमा भारतीय प्रधानमन्त्री मोदीले त्यो प्रतिबन्ध नेपालका लागि थिएन भनेर तत्कालै खुला गर्ने बताएको आर्चायले जानकारी दिए ।
उनका अनुसार शनिबार रातिबाटै भारतले नेपालमा चामल निर्यात खुला गरिसकेको छ । चामल आयातमा प्रतिबन्ध लाग्दा नेपालमा व्यापारीले चामलको भाउ ह्वात्तै बढाएका थिए । यस्तै विस्फोटक पदार्थ नेपाल लान पनि नरोकिने भारतीय प्रधानमन्त्री मोदीले बताएको प्रेस सल्लाहकार आचार्यले जानकारी दिए ।
यसअघि भारतले विस्फोटक पदार्थ निर्यातमा बन्देज लगाएको थियो । जसका कारण नेपालमा निर्माणाधीन सडक, जलविद्युत् तथा तथा सुरुङमार्ग परियोजना प्रभावित भएका थिए । विस्फोटक पदार्थ विकास निर्माणका लागि अति आवश्यक पदार्थ हो । यस्तै प्रचण्डको पछिल्लो भारत भ्रमणका क्रममा भएको छलफल र सहमति कार्यान्वयनका विषयमा फलोअपका रुपमा कुराकानी भएको बताइएको छ ।
सो क्रममा भारतीय प्रधानमन्त्रीले नेपाललाई बंगलादेश रुट प्रयोग गर्न दिने तथा नेपालबाट १० वर्षमा १० हजार मेगावाट बिजुली भारतले खरिद गर्ने प्रक्रिया पनि छिट्टै अगाडि बढाइने प्रतिबद्धता व्यक्त गरेको आचार्यले बताए । छलफलमा दुबै देशका प्रधानमन्त्रीले नेपाल भारतको आपसी सहयोगका विभिन्न पक्षहरूको समीक्षा गर्नुका साथै द्विपक्षीय साझेदारीलाई अगाडि बढाउन र आपसी सम्बन्धलाई अझ सुदृढ बनाउन सहमत भए ।