३० साउन,एजेन्सी ।
विश्वको सर्वोच्च शिखर सगरमाथा सहित अन्य हिमालको आरोहण शुल्क (रोयल्टी) वृद्धि गर्ने सरकारले तयारी गरेको छ । पर्यटन विभागका अनुसार सरकारले नयाँ संघीय पर्यटन विधेयकसँगै पर्वतारोहण सम्बन्धी नियमावली संशोधन गर्दै हिमाल आरोहण शुल्क वृद्धि गर्ने तयारी गरेको हो । विभागका निर्देशक तथा प्रवक्ता युवराज खतिवडाका अनुसार पर्वतारोहण सम्बन्धी नियमावली, २०५९ संशोधनको तयारी भइरहेको छ ।
यो नियमावली संशोधनसँगै हाल मन्त्रालयले हेर्दै आएको पर्वतारोहण सम्बन्धी स्वीकृति, रोयल्टी संकलन तथा पर्वतारोहण नियमन तथा सुपरिवेक्षणसँगै सम्पूर्ण व्यवस्थापकीय अधिकार पर्यटन विभागलाई प्रत्यायोजन हुनेछ । योसँगै हाल कायम पर्वतारोहण शुल्क (रोयल्टी) समेत केही परिमार्जन गर्ने तयारी रहेको उनले बताएका छन् ।
हाल सगरमाथा आरोहणका लागि नेपाली नागरिकले १८ हजार २५० रुपैयाँदेखि ७५ हजार रुपैयाँसम्म (ऋतु अनुसार) शुल्क तिर्नुपर्छ भने विदेशी नागरिकले २ हजार ७५० अमेरिकी डलरदेखि ११ हजार डलरसम्म तिर्नुपर्ने हुन्छ । यस्तै, सगरमाथाबाहेकका अन्य आठ हजार मिटर रेञ्जका हिमालहरु आरोहण गर्दा नेपालीले २ हजार ५ सय रुपैयाँदेखि १० हजार रुपैयाँसम्म शुल्क तिर्नुपर्छ भने विदेशीहरुले ४५० अमेरिकी डलरदेखि १ हजार ८०० डलरसम्म तिर्नुपर्ने हुन्छ ।
सोभन्दा तल ७ हजार ९९९ मिटरसम्मका उचाइका हिमाल आरोहण गर्दा रेञ्ज हेरी रोयल्टी लाग्ने गर्छ । सोही रोयल्टीलाई केही वृद्धि गर्ने तयारी सरकारले गरेको हो । नेपाल सरकारले सन् २०२५ देखि सगरमाथा आरोहणको अनुमति प्राप्त गरेबापतको रोयल्टी शुल्क ४ हजार अमेरिकी डलरले बढाएर १५ हजार अमेरिकी डलरसम्म पु¥याउने विषयमा सोमबार विचार गरिरहेको छ ।
८८४८ दशमलव ८६ मिटर उचाईको सगरमाथा विश्वको सबैभन्दा कठिन हिमाल मध्ये एक हो। ठाडो आरोहण भएकाले यसलाई चढ्न निकै कठिन छ । यससँगै यहाँको तापक्रम अप्रत्याशित छ। सगरमाथा आरोहणका लागि मानसिक र शारीरिक दुवै रूपमा तयार हुनुपर्छ । जब तपाईं सगरमाथा चढ्नुहुन्छ, त्यहाँ कम अक्सिजन हुनेछ, जसले तपाईंलाई बिरामी बनाउन सक्छ।
यससँगै सगरमाथामा जुनसुकै बेला अचानक भयानक आँधी आउन सक्छ। सगरमाथा आरोहण धेरै हप्ताको प्रक्रिया हो, जसका लागि सुरक्षाका लागि भारी समेत बोक्नुपर्दछ । पर्वतारोहण सम्बन्धी नियमावली संशोधनपछि मन्त्रीपरिषद्को बैठकले पास गरेपछि यो कार्यान्वयनमा जानेछ ।
सन् १९५० मा फ्रेन्च नागरिक मरिस हर्जोग र लुइस लाकनलले विश्व इतिहासमै पहिलोचोटि आठ हजार मिटर अग्लो हिमाल (अन्नपूर्ण) आरोहण गरे । त्यो आरोहणको सफलता संसारभरि चर्चाको विषय बन्यो । सन् १९५३ मा तेन्जिङ नोर्गे शेर्पा र एडमन्ड हिलारीले सर्वोच्च शिखर सगरमाथा आरोहण गरेपछि नेपाल संसारभरि हिमालयको देश भनेर चिनिन थाल्यो ।
त्यसपछि विश्वभरका सौखिन र साहसिक पर्वतारोही नेपालमा हिमाल आरोहण गर्न आउन थाले । नेपालको पर्वतीय पर्यटनको इतिहास सन् १९५० को दशकबाट सुरु भएको मानिन्छ । अहिले पनि विदेशीका लागि देशको प्रमुख पर्यटकीय गन्तब्य हिमाल आरोहण नै बनेको छ ।