रोनाल्डोको ह्याट्रिकमा अल नासरको जित

रोनाल्डोको ह्याट्रिकमा अल नासरको जित

९ भदौ, एजेन्सी ।
अल नासरले साउदी प्रो लिगमा अल फाटे एफसीलाई ५–० गोलको फराकिलो अन्तरले हराएको छ । प्रिन्स अब्दुल्लाह विन जलावी स्पोर्ट्स स्टेडियममा गएराति भएको खेलमा फरवार्ड क्रिष्टियानो रोनाल्डोले ह्याट्रिक र फरवार्ड साडियो मानेले दुई गोल गरे । साउदी प्रो लिगमा शुरुवाती दुई खेल गुमाएको अल नासरको यो पहिलो जित हो ।

यसअघि अल नासरले अल इतिफक र अल ताओनसँग हार बेहोरेको थियो । नयाँ सिजनको दोस्रो खेलमै रोनाल्डोको यो पहिलो ह्याट्रिक हो । शुक्रबार राति गोलको वर्षा भएको खेलको २७औं मिनेटमा मानेको गोलबाट अल नासरले १–० को अग्रता लिन सफल भयो । उनले रोनाल्डोको पासलाई सदुपयोग गरे ।

३८औं मिनेटमा रोनाल्डोले सुल्तान अल घनामको पासमा गोल गर्दै अल नासरलाई पहिलो हाफमा २–० को हग्रता दिलाए । ५५औं मिनेटमा रोनाल्डोले व्यक्तिगत दोस्रो तथा टोलीका लागि तेस्रो गोल गर्दै अल नासरलाई सहज जिततर्फ अघि बढाए । यसपटक रोनाल्डोले अब्दुलरहमान घारिवको पासलाई सदुपयोग गरे ।

८१औं मिनेटमा मानेले घारिवकै पासमा व्यक्तिगत दोस्रो तथा टोलीका लागि चौथो गोल गर्दै अल नासरलाई ४–० ले अघि बढाए । त्यसपछि इन्ज्युरी समयको थप गरिएको छैटौं मिनेटमा रोनाल्डोले नवाफ अल बोउसेलको पासमा ह्याट्रिक पूरा गर्दै अल नासरलाई ५–० को सानदार जित दिलाए । यसजितसँगै अल नासर ३ खेलबाट ३ अंक जोडेर १०औं स्थानमा उक्लिएको छ । पराजित अल फाटे ४ अंक जोडेर आठौं स्थानमा छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.