१४ भदौ , काठमाण्डौ ।
चार दल सम्मिलित समाजवादी मोर्चामा अमेरिकी सहयोग परियोजना एमसीसीको विषयलाई लिएर तिव्र विवाद सुरु भएको छ । एमसीसी कार्यान्वयन नगर्न नेकपाका महासचिव विप्लवको प्रस्ताव अन्य मोर्चाका घटकले अस्वीकार गरेपछि असन्तुष्टि चुलिएको हो। बुधबारदेखि कार्यान्वयनमा आएको एमसीसी परियोजनालाई लिएर विप्लव नेतृत्वको नेकपाले असन्तुष्टि जनाइरहेको छ ।
मोर्चामा सामेल सत्तारुढ नेकपा(माओवादी केन्द्र),जनता समाजवादी पार्टी(जसपा) र एकीकृत समाजवादीले एमसीसीको समर्थन गरिसकेका छन् भने विप्लव नेकपा विरोधमा सडकमा आन्दोलित बनेको छ । एमसीसी कार्यान्वयनको विषयले मोर्चामा मतभेद भएपछि विप्लव नेकपाले पार्टीको स्थायी समिति बैठक बोलाएको छ । शुक्रबार काठमाडौंमा बस्ने गरी बोलाइएको बैठकमा एमसीसीका कारण मोर्चामा उत्पन्न असन्तुष्टिबारे छलफल हुने जनाइएको छ।
यद्यपि एमसीसी कार्यान्वयको विषयमा मतभेद बढेपनि बिहीबार सुर्खेतमा आयोजित मोर्चाको कार्यक्रममा भने विप्लव सहभागी भएका छन् । समाजवादी मोर्चाको सन्देश सभामा बोल्दै उनले एमसीसी जनताको हितमा नभएको दाबी गरेका छन् । ’विप्लव’ ले नेपालमा नक्कली बाख्राको खोर देखाएर अनुदान खाने कम्युनिष्टहरु रहेको बताएका छन् ।
महासचिव विप्लवले दलाल पुँजीपतिले नेपाललाई गम्भीर मोडमा लगिरहेको बताए । उनले क्रान्तिबाट प्राप्त उपलब्धिको रक्षाका लागि कम्युनिस्ट पार्टीहरु एक ठाउँमा उभिनुपर्ने बताए । महासचिव विप्लवले कम्युनिस्ट पार्टीहरु समाजवादी मोर्चामा आउनुपर्ने बताएका हुन् । उनले अहिलेसम्म कसैको अधीनमा नरहेको नेपाललाई आफ्नो नियन्त्रणमा राख्ने प्रयास भइरहेको बताए ।
तर सोही कार्यक्रममा प्रचण्डले प्रमुख प्रतिपक्षी दल एमालेमाथि आक्रमक रुपमा प्रस्तुत भएका छन् । ‘प्रचण्ड’ले प्रमुख प्रतिपक्षी दल नेकपा एमालेभित्र धाँजा परेको टिप्पणी गरेका छन् । नेतृत्व (अध्यक्ष केपी ओली)का कारण कार्यकर्ता हैरान भएर विस्फोट हुने अवस्था आएको उनले दाबी गरेका छन् ।
‘म अहिले नाम लिएर भन्दिनँ, आफूलाई ठूलो पार्टीको नेता भन्नेका कारण प्रतिपक्षभित्र यति ठूलो धाँजा परेको छ, नेताको विशाल पंक्ति र कार्यकर्ता हैरान÷परेसान भएर भएर कहीँ न कहीँ विस्फोट हुने अवस्थामा पुगेको छ । त्यसबाट कम्युनिस्ट आन्दोलनको नयाँ धु्रवीकरण शुरू हुने मेरो विश्वास छ,’ प्रचण्डले भनेका छन् ।
उनले सरकारले गरेको राम्रो कामका कारण गठबन्धन र मोर्चा भत्काउन विरोधीहरू धुप हालेर लागिपरेको बताएका छन् । गत असार ४ गते सत्तारुढ नेकपा (माओवादी केन्द्र), जनता समाजवादी पार्टी, नेकपा(एकीकृत समाजवादी पार्टी) र विप्लव नेतृत्वको नेकपाबीच समाजवादी मोर्चा गठन गरिएको थियो। मोर्चाले देशव्यापी कार्यक्रम गरिरहेको छ ।