२० भदौ,एजेन्सी । 

अष्ट्रेलियाले आगामी महिना भारतमा हुने एकदिवसीय विश्वकप खेल्ने टोलीको घोषणा गरेको छ । अलराउन्डरको बाहुल्यता भएको विश्वकपको सर्वाधिक सफल टोली अष्ट्रेलियाले मजबुत टोली घोषणा गरेको छ । अष्ट्रेलियाको टोलीमा मिचेल मार्श, मार्कस स्टोइनिस, क्यामरन ग्रीन, ग्लेन म्याक्सवेल, एश्टन अगर र शन एबोट जस्ता म्याच विनर अलराउन्डरलाई टोलीमा समेटेको छ ।

टेस्ट क्रिकेटमा उत्कृष्ट प्रदर्शन गर्दै आएका मार्नस लाबुसेन भने विश्वकप अन्तिम टोलीमा छैनन् । नाथन एलिस भने प्रारम्भिक टोलीबाट बाहिरिएका छन् । अनुभव र ब्याटिङ मजबुत बनाउन शन एबोटलाई टोलीमा राखेको छ । त्यस्तै ब्याकअप विकेटकिपरको रुपमा जोश इंग्लिसलाई राखेको छ । उनी एलेक्स केरीको विकल्पमा हुनेछन् ।

अष्ट्रेलियाले विश्वकपअघि दक्षिण अफ्रिकासँग पाँच र भारतसँग तीन ओडिआई खेलको सिरिज खेल्नेछ । दुबै सिरिज अष्ट्रेलियाले अवेमा गएर खेल्नेछ । दक्षिण अफ्रिकासँग पाँच ओडिआई सेप्टेम्बर ७, ९,१२, १५ र १७ मा हुनेछ । भारतसँगको तीन ओडिआई सेप्टेम्बर २२, २४ र २७ मा हुनेछ । आइसिसीले कुनैपनि विश्वकप खेल्ने टोलीले टिम परिवर्तन गर्न चाहे २८ सेप्टेम्बर सम्मको समय दिएको छ ।आठ ओडिआई खेलको प्रदर्शनपछि अष्ट्रेलियाले टोलीमा फेरबदल गर्न सक्नेछ ।

अष्ट्रेलियाले विश्वकपमा पहिलो खेल भारतसँग ८ अक्टोबरमा खेल्दै सुरुवात गर्नेछ । यता उपाधि दाबेदार तथा घरेलु टोली भारतले पनि विश्वकप खेल्ने १५ सदस्य टोली घोषणा गरेको छ । रोहित शर्माको कप्तानीमा घोषणा टोलीमा शुभमन गिल, विराट कोहली, श्रेयस ऐर, ईशान किशन, लोकेश राहुल, हार्दिक पान्ड्या, सूर्यकुमार यादव, रविन्द्र जडेजा, अक्षर पटेल, शार्दुल ठाकुर, जस्प्रित बुमराह, मोहम्मद शामी, मोहम्मद शिराज र कुलदीप यादव रहेका छन् ।

यस्तै दक्षिण अफ्रिकाले पनि १५ सदस्यीय टोलीको घोषणा गरेको छ । दक्षिण अफ्रिकाले श्रीलंकासँग खेल्दै विश्वकप सुरु गर्नेछ । टेम्बा बमुभा (कप्तान) रहेको दक्षिण अफ्रिकाको टिममा जेराल्ड कोएट्जी, क्विन्टन डी कक, रिजा हेन्ड्रिक्स, मार्को यानसन, हेनरिक क्लासेन, सिसान्डा मंगाला, केशव महाराज, एडेन माक्ररम, डेभिड मिलर, लुंगी एनगिडी, एनरिच नोर्त्जे, कागिसो रबाडा, तबरेज शम्सी, रासी भान डेर डुसेन रहेका छन् ।

Scroll to Top