२४ भदौ, काठमाण्डौ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफ्नो आसन्न चीन भ्रमणलाई लिएर आज सिंहदरबारमा सर्वदलीय बैठक बोलाएका छन् । सो बैठकमा विभिन्न दलका नेताहरुले आफ्नो सुझाव दिएका छन् । बैठकमा सत्तादेखि प्रतिपक्षी दलका समेत नेताहरु र सांसदहरु सहभागी थिए । उक्त बैठकमा नेकपा एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पनि सहाभगी थिए ।
उनी बैठकमा केही बेरमात्रै बसेर निस्किएका थिए । उता सत्ता साझेदार नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई चीन भ्रमणको सफलताको शुभकामना दिए । अर्कातिर नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले चीनले अगस्ट २१ मा जारी गरेको नक्साबारे कुरा उठाए ।
उनले २०७५ वैशाखमा जारी भएको नक्साबारे अन्तर्राष्ट्रिय समुदायलाई जानकारी दिएको कुरा आफूलाई थाहा नभएको बताए । ‘नक्साको विषय मलाई पनि जानकारी नभइकन कसरी अन्तर्राष्ट्रिय समुदायलाई पठाइयो?’, उनले भने, ‘मैले अहिलेसम्म थाहा पाएको छैन, कसरी कूटनीतिक रुपमा जानकारी गराइयो?’ यस्तै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्रधामन्त्रीलाई सात बुँदे लिखित सुझाव दिएको छ ।
रास्वपा नेता डोलप्रसाद अर्यालले भने, ‘नक्साको विषयमा जनताले थाहा पाउने लेभलमा धारणा राख्नुपर्यो भनेका छौं ।’ नेपालले जेठ २०७७ मै कालापानी, लिपुलेक र लिम्पियाधुरालाई समेटेर नयाँ नक्सा जारी गरेको भए पनि चीनले हालै सार्वजनिक गरेको नक्सामा नेपालको पुरानै नक्सा छ ।
दलहरुले आसन्न चीन भ्रमणमा यसलाई एजेन्डा बनाउन प्रधानमन्त्री प्रचण्डलाई सुझाव दिएका छन् । प्रमुख प्रतिपक्षि एमालेले प्रधानमन्त्री प्रचण्डलाई चीन भ्रमणका क्रममा यसअघिका सम्झौता कार्यान्वयनमा जोड दिन सुझाव दिएको छ । एमाले उपमहासचिव प्रदीप ज्ञवालीले नेपाल सदैव सन्तुलित असंलग्न परराष्ट्र नीतिमा कटिबद्ध रहेको विश्वास चीनलाई दिलाउँदै यसअघिको सहमति कार्यान्वयनमा जोड दिनुपर्ने बताए ।
नेपालले चीनसँगको सम्बन्ध कम प्राथमिकतामा राखेको हो कि भन्ने भ्रम चीनलाई रहेको उल्लेख गर्दै उनले प्रधानमन्त्रीको भ्रमणले त्यो तोड्नुपर्ने बताए । यसैबीच प्रधानमन्त्री दाहालले गत २१ अगस्टमा उत्तरी छिमेकी चीनले जारी गरेको नक्सालाई लिएर आफू गम्भीर रहेको बताएका छन् ।
नेपालले २०७५ वैशाखमा जारी गरेको चुच्चे नक्साको भूभाग भारततिर देखिने गरी चीनले आफ्नो राजनीतिक नक्सा जारी गरेपछि विरोध भइरहेका बेला प्रधानमन्त्रीको यस्तो भनाइ आएको हो । बैठकमा दलका नेताहरुले भ्रमणमा जाँदा चीनद्वारा भर्खरै जारी भएको नक्सामा ध्यान दिनुपर्ने कुरा उठाएका थिए।
उनीहरुले यसबारेमा चीनसँग कुरा गर्न भनेपछि प्रधानमन्त्रीले आफू गम्भीर रहेको जवाफ दिएका हुन् । ‘यसबारेमा म गम्भीर छु, नेपालको पारित भइसकेको नक्साबारेमा प्रस्ट पारिसकेको छु’, उनले भने, ‘हामीले संसद्बाट जारी गरेको नक्साको छिमेकीहरुले सम्मान गर्नुपर्ने कुरा प्रस्ट पारिसकेका छौँ। तपाईंहरुको सुझावलाई मनन गर्दै यसबारेमा थप कुरा राख्नेछु।’