२२ मंसिर, काठमाण्डौ ।
दुबईबाट आएका यात्रुको साथबाट १४ केजी सुन बरामद भएको विषयमा छानबिनका लागि ६ सदस्यीय समिति गठन गरिएको छ । प्रमुख भन्सार अधिकृत मणिराम पौडेल संयोजक रहेको उक्त समितिमा डीएसपी सूर्यप्रकाश सुवेदी, भन्सार अधिकृतहरू प्रकाश निरौला, डिल्लुप्रसाद शर्मा, लोकराज ढुंगाना र शाखा अधिकृत मञ्जु थापा रहेको त्रिभुवन विमानस्थल भन्सार कार्यालयका महानिर्देशक टोकराज पाण्डेले जानकारी दिए।
गएराति दुबईबाट नेपाल आएका गोरखाका चन्द्र घलेको साथबाट बिस्कुट आधारको ७ थान (अन्दाजी १४ केजी) सुन बरामद भएको थियो । उनको बयानको आधारमा गोरखाकै मीनबहादुर घलेलाई पनि पक्राउ गरिएको छ । भन्सार कार्यालयका अनुसार उक्त सुन परीक्षणका लागि भन्सार विभाग पठाइएको छ ।
यता त्रिभुवन विमानस्थल भन्सार कार्यालयले भने १० किलो सुनको सूचना पछ्याउँदा १४ किलो सुन बरामद गरेको बताएको छ । शुक्रवार पत्रकारसँग कुराकानी गर्दै विमानस्थल भन्सार कार्यालयका प्रमुख डा. टोकराज पाण्डेले १० किलो सुन आउने सूचना पछ्याउँदा १४ किलो सुन बरामद भएको बताए ।
विमानस्थल भन्सारका प्रमुख भन्सार प्रशासक पाण्डेका अनुसार केही दिन अगाडि नै दुबईबाट १० किलो सुन आउँदै छ भन्ने सूचना प्राप्त भएको थियो । सुन कहिले आउँदै छ भन्ने स्पष्ट सूचना नभए पनि सुन ल्याउने व्यक्तिको हुलिया र सुन आउन लागेको बारे सूचना आएको थियो ।
सूचना दिने व्यक्तिले १० किलो सुन आउँदै छ भनेपछि आफूहरूले निगरानी बढाएको र प्रमुख प्रशासक आफै फिल्डमा खटिएको पाण्डेले बताएका छन् । त्रिभुवन विमानस्थल भन्सार कार्यालयका प्रमुख डा. पाण्डेले पक्राउ परेका व्यक्तिलाई विमानबाट ओर्लने बित्तिकै नियन्त्रणमा नलिएको भए सुन फेला नपर्न पनि सक्ने संकेत गरेका छन् ।
पाण्डेले विमानबाट ओर्लने बित्तिकै नियन्त्रणमा लिएको कारण ठुलो परिमाणको सुन बरामद गर्न सकिएको बताए । यस्तै काठमाडौंको नागढुंगाबाट पनि प्रहरीले दुई किलो सुन बरामद गरेको छ । उपत्यका अपराध अनुसन्धान कार्यालय, काठमाडौंले नागढुंगबाट दुई किलो सुन बरामद गरेको एसएसपी सोमेन्द्रसिंह राठौरले बताएका छन् ।
उनका अनुसार, यो सुन रसुवा नाकाबाट काठमाडौं तर्फ ल्याइँदै थियो । विशेष सूचनाका आधारमा खटिएको टोलीले सुन बरामद गरेर तीन जनालाई नियन्त्रणमा लिएको उनले बताएका छन् । प्रहरीका अनुसार पक्राउ पर्नेमा रसुवाको गोसाइँकुण्ड गाउँपालिका ५ का २८ वर्षीय ग्यालसिंह तामाङ, २६ वर्षीय वीरु तामाङ र स्याफ्रुबेसीका २१ वर्षीय सुनिल भुजेल रहेका छन् ।
उपत्यका अपराध अनुसन्धान कार्यालयले दुई दिनअघि पनि न्यूरोडको सुन गाल्ने कारखानामा छापा मारेर झण्डै ८ किलो अवैध सुन बरामद गरेको थियो ।