अष्ट्रेलियामा बेरोजगारी बढ्यो, भिसामा कडाइ

२९ मंसिर,एजेन्सी ।

नेपालीसहित विदेशी विद्यार्थीहरुको प्रमुख गन्तब्य बन्दै आएको अष्ट्रेलियामा बेरोजगरी दर ह्वातै बढेको छ । रोजगारीमा वृद्धि भए पनि अस्ट्रेलियाको बेरोजगारी दर १८ महिनाकै उच्चतम स्तरमा पुगेको छ । अष्ट्रेलियन ब्युरो अफ स्टाटिस्टिक्स (एबीएस) ले बिहीवार प्रकाशित गरेको आधिकारिक श्रम तथ्याङ्कमा आधिकारिक बेरोजगारी दर अक्टोबरमा तीन दशमलव आठ प्रतिशतबाट बढेर तीन दशमलव नौ प्रतिशत भएको उल्लेख छ।

यो सन् २०२२ अप्रिलपछिको सबैभन्दा उच्च बेरोजगारी दर हो । यद्यपि अक्टोबर र नोभेम्बरबीच रोजगारीमा रहेका अस्ट्रेलियालीको सङ्ख्या ६१ हजारले बढेको एबीसीको तथ्याङ्कमा उल्लेख छ । यो वृद्धिको भर्पाइ सहभागिता दरमा भएको वृद्धिबाट भएको छ र यसले कामकाजी उमेरको जनसङ्ख्याको अनुपातलाई मापन गर्दछ ।

कार्यरत वा सक्रियरूपमा कामको खोजीमा रहेका मानिसको सङ्ख्या अक्टोबरमा ६७ प्रतिशतबाट बढेर ६७ दशमलव दुई प्रतिशतको कीर्तिमानी स्तरमा पुगेको छ ।बेरोजगारी दर गणना गर्नका लागि व्यक्ति कामविहीन हुनुपर्छ वा सक्रियरूपमा नोकरीको खोजी गरेको हुनुपर्छ ।

एबीएसका अनुसार नोभेम्बरमा एक करोड ४२ लाख ६० हजार अस्ट्रेलियाली रोजगारीमा छन् । यो कामकाजी उमेरको जनसङ्ख्याको ६४ दशमलव छ प्रतिशत हो ।अक्टोबर र नोभेम्बरबीच रोजगारीमा रहेका अस्ट्रेलियालीको सङ्ख्या बढे पनि यो अवधिमा सबै नोकरीमा अस्ट्रेलियालीले काम गरेको घण्टाको कुल सङ्ख्या शून्य दशमलव एक प्रतिशतले घटेको छ ।

बढ्दो बेरोजगारी र आप्रवासीको जनघनत्व बढेपछि पछिल्लो समय अष्ट्रेलियाले विदेशी विद्यार्थीहरुका लागि पनि कडा शर्त लागू गरेको छ । अष्ट्रेलियाले सोमबार मात्रै अन्तर्राष्ट्रिय विद्यार्थी र न्यून सीप भएका श्रमिकहरुको भिसामा कडाई गर्ने नयाँ नियम अगाडि सरेको छ ।

अष्ट्रेलियामा आप्रवासीलाई कम गर्ने उद्देश्यले अगाडि सारिएको नीतिमा अङ्ग्रेजी प्रविणता परीक्षामा ल्याउनुपर्ने स्कोर बढाइएको छ भने अस्ट्रेलियाको बसाई थप गर्न दिने दोश्रो भिसा आवेदनमा छानबिन गर्ने बताइएको छ । अष्ट्रेलियन सरकारले नयाँ माइग्रेसन रणनीतिमा ८ मुख्य कार्य र २५ बढी नीति सुधार गर्ने प्रस्ताव गरेको छ ।

अष्ट्रेलियाले कोभीड–१९ का कारण व्यवसायले कामदार र विद्यालयले विद्यार्थी नपाएको कारण भिसामा उदारता देखाएको थियो । अब भने सरकारले नयाँ नीतिका साथ आप्रवासीको संख्या दिगोस्तरमा फर्काउन चाहेको देखिन्छ । नेपाल अष्ट्रेलियाका लागि विदेशी विद्यार्थीको महत्त्वपूर्ण योगदानकर्ता हो । अष्ट्रेलियाको शिक्षा मन्त्रालयको तथ्यांक अनुसार अष्ट्रेलियामा चीन र भारतपछि सबैभन्दा बढी विदेशी विद्यार्थी नेपाली रहेको देखिन्छ ।

Scroll to Top