जोगबनीमा नेपाली टोपी लगाइदिएर भारतीय पर्यटकको स्वागत

जोगबनीमा नेपाली टोपी लगाइदिएर भारतीय पर्यटकको स्वागत

१६ पुष,विराटनगर।
नेपाली पोशाक तथा टोपी दिवसका अवसरमा सोमबार रानी–जोगबनी नाकाबाट नेपाल आउने पर्यटकलाई नेपाली टोपी लगाइदिएर स्वागत गरिएको छ । सोमबार गिरी फाउन्डेसनले नयाँ वर्ष २०२४ र टोपी दिवसको शुभकामना दिँदै भारतीय पर्यटकलाई टोपी र खादा लगाइदिएर स्वागत गरेको हो ।

’गिरी फाउन्डेसन’का अभिषेक गिरीले बिहानै रानी–जोगबनी नाका भएर विराटनगर भित्रने केही पर्यटकलाई टोपी लगाइदिएर स्वागत गरेका थिए । साथै गिरीले रानी–जोगबनी नाकाबाट मात्र नभएर अरू नाकाबाट नेपाल भित्रिने पर्यटकहरूलाई सम्मानका साथ नेपाल भित्र्याउन नेपाल प्रहरी र सशस्त्र प्रहरीसँग अनुरोध गरेका छन् ।

भारतीय पर्यटकलाई नेपाल प्रवेश गर्दा सुरक्षा निकायले सास्ती दिएको गुनासो आउने गरेको अवगत गराउँदै गिरीले यसो नगरिदिन प्रहरीसमक्ष आग्रह गरेका हुन् । उनले भारतीय प्रहरीसमक्ष पनि नेपाल–भारतबीच रोटी–बेटीको सम्बन्ध रहेको बताउँदै नेपालका उपभोक्ता वा पर्यटकप्रति राम्रो व्यवहार गरिदिन अनुरोध गरेका छन् ।

कार्यक्रममा सशस्त्र प्रहरीका डिएसपी महेश केसी, विराटनगर महानगरपालिका–१५ का वडाध्यक्ष प्रकाश साहलगायतले पनि भारतीय पर्यटकलाई स्वागत सम्मान गरेका थिए । । अंग्रेजी नयाँवर्षको पहिलो दिन जनवरी १ का दिन राष्ट्रिय टोपी दिवस मनाइँदै आइएको छ । केही युवाको अगुवाइमा २०७० सालदेखि हरेक वर्षको जनवरी १ लाई राष्ट्रिय टोपी दिवसको रूपमा मनाउन थालिएको थियो ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.