१७ पुष,धरान।
धरान उपमहानगरपालिकाका प्रमुख हर्क साम्पाङले आफ्नो कार्यकक्षबाट राष्ट्रपति र प्रधानमन्त्रीको फोटो हटाएपछि अहिले यहाँ भाडभैलो मच्चिएको छ । मेयर साम्पाङले गत पुस १२ गते संघीय सरकारले असहयोग गरेको भन्दै राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री पुष्पकमल दाहाल दुवैको तस्बिर हटाइदिएका थिए ।
उनले राष्ट्रपति र प्रधानमन्त्रीको फोटो हटाएर किरात राजा यलम्बरको राखेका छन् । यसअघि देखि नै विभिन्न मुद्यामा राजनीतिक दलहरुको तगारो बन्दै आएका हर्क यो घटनापछि झनै विवादमा आए । उनको सो कदमको विरोध जनाउँदै धरानका पाँच दलले पाँच दिनभित्र राष्ट्रपति र प्रधानमन्त्रीको तस्बिर टाँस्न मेयरलाई अल्टिमेटम दिए । यसको विरोधमा विज्ञप्ति पनि जारी गरे । तर हर्कले टेरेनन् ।
आज फेरि नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्रसहितका नेता कार्यकर्ताहरू राष्ट्रपति र प्रधानमन्त्रीको फोटो लिएर धरान उपमहानगरपालिकाको कार्यालयमा पुगेका थिए । तर आज पनि मेयर साम्पाङले प्रधानमन्त्री धरान आएमात्रै आफूले फोटो टाँग्ने अडान जारी राखे । यसक्रममा आज उपमहानगर परिषरमा निकै तनाव हुने आँकलनहरु भइरहेका थिए ।
दलका कार्यकर्ताहरू फोटो लिएर आउनुअघि नै धरान उपमहानगरको मूलगेटमा ठूलो संख्यामा सुरक्षाकर्मी तैनाथ गरिएको थियो । आज राष्ट्रपति र प्रधानमन्त्रीको फोटो बोकेर राजनीतिक दलका भ्रातृ संस्थाका कार्यकर्ता उपमहानगर पुगेपछि कार्यालय परिसरमा केहीबेर तनावको स्थिति उत्पन्न भएको थियो ।
यद्यपी राष्ट्रपति र प्रधानमन्त्रीको फोटो बोकेर उपमहानगर पुगेका दलका भ्रातृ संस्थाका कार्यकर्ताहरू र मेयर साम्पाङबीच दुई घन्टा वार्ता भएको थियो । त्यस क्रममा मेयर साम्पाङले धरान स्थापना दिवसमा प्रधानमन्त्री पुष्पकमल दाहाल ’प्रचण्ड’ प्रमुख अतिथि बनेर आए मात्रै कार्यकक्षमा राष्ट्रपति र प्रधानमन्त्रीको फोटो राख्ने सर्त राखेका हुन् ।
उनले धरानलाई संघीय सरकारले वेवास्ता गरेको आरोप लगाउँदै आएका छन् । उनले धरान ’डे’ मा प्रधानमन्त्रीलाई प्रमुख अतिथिको रुपमा बोलाउने ग्यारेन्टी दलहरुले दिनुपर्ने शर्त राखेका छन् । तब मात्रै आफूले राष्ट्रपति र प्रधानमन्त्रीको फोटो मेरो कार्यकक्षमा राख्ने बताए ।
त्यसक्रममा विभिन्न भ्रातृ सस्थाका नेताहरुले यसबारे आफूहरुले पार्टीलाई भन्दिने तर धरान नगरले प्रधानमन्त्रीलाई निम्तो दिनुपर्ने बताएका थिए । त्यसलाई पनि मेयरले नकारे । धरानमा यसपटक पुस २० देखि स्थापना दिवस मनाउने तयारी चलिरहेको छ ।
यद्यपी दलका भ्रातृ संस्थाहरुले मेयरलाई तीन दिनको अल्टिमेटम दिएका छन् । आफूहरुले तीन दिनभित्र राष्ट्रपति र प्रधानमन्त्रीको फोटो कार्यकक्षमा राख्न भनेको र मेयरले तीन दिनभित्र केही सोच्ने बचन दिएको दलका नेताहरुले बताएका छन् । पछिल्लो समय धरानमा विमानस्थल बनाउन केन्द्रले चासो नदिएको भन्दै साम्पाङले रोष प्रकट गरिरहेका थिए ।