२२ पुष, काठमाण्डौ ।
त्रिभुवन विश्वविद्यालयले उपकुलपतिको रिक्त रहेको पदपूर्तिका लागि गत २० गते निकालेको दरखास्त आव्हानसम्बन्धी सार्वजनिक सूचना रद्द भएको जनाएको छ । विश्वविद्यालयले आइतबार एक सूचना प्रकाशित गर्दै उक्त जानकारी दिएको हो । ‘रिक्त रहेको पदमा नियुक्तिका लागि गठित छनोट तथा सिफारिस समितिको दरखास्त आव्हानसम्बन्धी मिति २०८०÷०९÷२० को सूचना रद्द गरिएको छ’, सूचनामा भनिएको छ ।
यो सूचना समितिको शनिवारको बैठकले रद्द गरेको जानकारी दिइएको छ । यद्यपि सूचना प्रकाशित भएलगत्तै शुक्रबार नै दरखास्तको सूचना सच्चाउन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले निर्देशन दिएका थिए । उनले नै उपकुलपतिको नियुक्ति प्रक्रियाका लागि आह्वान गरेको विज्ञापनको प्रावधान सच्याउन निर्देशन दिएपछि समितिले अस्ति शुक्रवार सार्वजनिक गरेको विज्ञापन रद्द गरेको हो ।
उपकुलपतिमा दरखास्त दिन पूर्वपदाधिकारीको अनुभव नचाहिने व्यवस्थासहित समितिले नयाँ विज्ञापन सार्वजनिक गर्ने तयारी गरेको छ । यसअघिको विज्ञापनको चौतर्फी विरोध भएपछि प्रधानमन्त्रीले विज्ञापनमा कसैलाई पनि बन्देज हुने गरी व्यवस्था नगर्न र देश तथा विदेशबाट समेत प्रतिस्पर्धा गर्न सक्ने गरी फराकिलो मापदण्ड राखेर अर्को सूचना प्रकाशन गर्न निर्देशन दिएका हुन् ।
उपकुलपति पदपूर्तिका लागि निकालिएको दरखास्तसम्बन्धी सूचना पनि आफू अनुकूलका व्यक्तिलाई भर्ना सहज हुने गरी मापदण्ड बनाइएको भन्दै आलोचना भइरहेको छ । शुक्रवार प्रकाशित सूचनामा ‘समितिले विश्वविद्यालयको पदाधिकारीमध्ये कुनै एक पदमा कम्तीमा तीन वर्ष काम गरेको ब्यहोरा खुलेको विवरण प्रमाणित प्रतिलिपि पेस गर्नु पर्ने उल्लेख गरेको थियो । यसैलाई लिएर विभिन्न क्षेत्रबाट विरोध भएको थियो ।
साथै पदपूर्ति समितिकै गठन र तीनका सदस्यहरू माथि पनि प्रश्न उठाइएको छ । प्रधानमन्त्री पुष्पकमल दाहालले भने उपकुलपतिको पदपूर्ति कुनै पनि हालतमा खुला प्रतिस्पर्धाबाट गराउने र राजनीतिक भागबन्डामा नपार्ने प्रतिवद्घता व्यक्त गर्दै आएका छन् । राजनीतिक बृत्तमा भने नेपाल समाजवादी पार्टीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले उपकुलपति बनाइने चर्चा चल्दै आएको छ ।