२२ पुष, एजेन्सी ।
भारतले सूर्यको अध्ययन गर्न पठाएको यान आदित्य–एल १ गन्तव्यमा पुगेको छ । यो अन्तरिक्ष मिशन चार महिनापछि शनिवार अपराह्न आफ्नो निर्धारित लक्षमा पुगेको हो । भारतले ५ अगष्ट २०२३ मा चन्द्रमाको दक्षिणी ध्रुवमा चन्द्रयान–३ को सफल अवतरण भएको एक सातापछि सूर्यको अध्ययनका लागि अर्को यान पठाएको थियो ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सामाजिक सञ्जाल एक्समा लेखेका छन्, ‘सूर्यको अध्ययन गर्नका लागि भारतको पहिलो आदित्य–एल १ आफ्नो गन्तव्यमा पुगेको छ । यसले हाम्रा वैज्ञानिकहरुको प्रयासले कठिन आन्तरिक अभियानलाई वास्ताविकतामा बदल्दैछ भन्ने देखाउने छ ।’ यो भारतको पहिलो सूर्य मिसन हो ।
आदित्यको अर्थ संस्कृतमा सूर्य हो । एल १ अर्थचाहिँ पृथ्वी र सूर्यको यस्तो विन्दुको हो, जहाँ दुबै ग्रहको गुरुत्व शक्ति समान हुन्छ । यहाँ रहेको वस्तुलाई दुबैले आफूतर्फ आकर्षित गर्ने क्षमता राख्दैन । त्यही स्थानमा रहेर आदित्य एल १ ले पृथ्वीले जसरी नै सूर्यको परिक्रमा गर्ने छ ।
यसअघि अमेरिकी अन्तरीक्ष निकाय नासा र युरोपेली अन्तरीक्ष एजेन्सी ईएसएले पनि सौर्य मिसन पठाइसकेको छ । भारतीय अन्तरीक्ष यान कुल ७ वटा ‘पे लोड’ लिएर गएको छ । यसले फाटोस्फेयर र क्रोमोस्फेयर नामले चिनिने सूर्यको सबभन्दा बाहिरी सतहको अध्ययन गर्नेछ । यसले अन्तरीक्षको मौसमबारे पनि अध्ययन गर्ने छ ।
अन्तरीक्षमा आउने सौर्य आँधी र त्यसको कारण पत्ता लगाउने कोसिस गर्नेछ । एक पटक आफ्नो कक्षमा स्थापित भएपछि यसले सूर्यलाई निरन्तर र प्रष्ट रुपमा अवलोकन गरिरहन सक्ने भारतको अन्तरीक्ष अनुसन्धान निकाय इसरोले बताएको छ ।
उसले भनेको छ, ‘यसले सौर्य आँधीलाई नजिकबाट अध्ययन गर्ने र रियल टाइममा अन्तरीक्षको मौसममा के असर पर्छ भनेर जानकारी दिने छ ।’भारतको चेन्नईबाट १०० किलोमिटर उत्तरमा पर्ने श्रीहरिकोटास्थित अन्तरिक्ष यान प्रक्षेपणकेन्द्रबाट यो यानलाई अन्तरिक्षमा पठाइएको थियो ।
भारतीय अन्तरिक्षयान पठाइएको पृथ्वी र सूर्यको गुरुत्व शक्ति सन्तुलित हुने स्थान १५ लाख किलोमिटर टाढा छ । उक्त दुरी पृथ्वी र चन्द्रमाबीचको दूरीभन्दा करिब चार गुणाले बढी हो । तर त्यो पृथ्वीबाट सूर्यसँगको दूरीको चाहिँ एक प्रतिशत मात्रै हो । सूर्य पृथ्वीबाट करिब डेढ करोड किलोमिटर टाढा छ ।