२३ पुष,काठमाण्डौ ।
त्रिभुवन विश्वविद्यालयले उपकुलपति नियुक्तिका लागि सोमबार पुनः आवेदन माग गरेको छ । गत शुक्रबार जारी भएको सूचनामा रहेका बुँदाको आलोचना भएपछि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दरखास्त आह्वान रद्द गर्न निर्देशन दिएका थिए ।
छनोट तथा सिफारिस समितिले शुक्रबार प्रकाशन गरेको सूचनामा ‘विश्वविद्यालयको पदाधिकारीमध्ये कुनै एक पदमा कम्तीमा ३ वर्ष काम गरेको (वर्ष, महिना र दिनसमेत) व्यहोरा खुलेको विवरण प्रमाणित प्रतिलिपि’ पेस गर्नुपर्ने उल्लेख थियो ।सो बुँदाले योग्य व्यक्ति उपकुलपति बन्ने बाटोबाट बञ्चित भएको भन्दै आलोचना भएको थियो ।
त्यसपछि प्रचण्डले पदाधिकारीमा ३ वर्षे अनुभव नराख्न निर्देशन दिएका थिए । प्रधानमन्त्री त्रिविका कुलपति हुन् । विज्ञापनमा तोकिएको उक्त योग्यताले पूर्व पदाधिकारीहरू मात्रै प्रतिस्पर्धाका निम्ति योग्य हुने र त्यसले मेरिटोक्रेसीमा सिन्डिकेट लगाउने प्रचण्डको भनाइ छ । प्रचण्डले त्रिविको उपकुलपतिमा राजनीतिक नियुक्ति नगर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
समितिले सोमबार जारी गरेको सूचनामा कुनै योग्यता उल्लेख गरिएको छैन । जारी सूचनामा समितिले इच्छुक व्यक्तिले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको वेबसाइटमा सूचनासँगै रहेको कार्यविधिमा उल्लिखित कागजातसहित अनुसूचीमा रहेको दरखास्त ढाँचामा आवेदन दिन भनेको छ । सूचना प्रकाशित भएको मिति (आज सोमबारदेखि १५ दिनभित्र कार्यालय समयमा मन्त्रालयमा दरखास्त पेस गर्न समितिले आह्वान गरेको छ।