५ माघ, विराटनगर ।
भनिन्छ,आफ्नो जन्मभूमिको महत्व र माया विदेश पुगेपछि मात्रै अनुभव गर्न पाइन्छ ।यसैले पनि होला विदेशिएका नेपालीहरु जन्मभूमिप्रतिको ऋण कहिल्यै तिर्न नसकिने भन्दै देशको विकासमा विभिन्न माध्यमबाट जोडिदै आएका छन् ।
यसरी नै विदेशमा बसेर आफ्नो जन्मभूमिको उन्नयनप्रति क्रियाशील अमेरिकाको टेक्सस निवासी विजयराज भट्टराईको सहयोगमा सप्तरीको रूपनगरमा सार्वजनिक पुस्तकालय स्थापना हुने भएको छ । उनकै समन्वयमा ‘सर्वोदय फाउण्डेसन नेपाल’ मार्फत् सप्तरीको कञ्चनरूप नगरपालिका १२ रूपनगर स्थित रूपनगर नन्दराज संग्रौला क्याम्पस परिसरमा पुस्तकालय स्थापना हुन लागेको जानकारी क्याम्पसले जनाएको छ।
नेपाली भाषा, साहित्य र संस्कृति नै प्रवासमा नेपालीको पहिचान हो भनेर टेक्ससमा नेपालीहरूद्वारा सञ्चालित नेपाली पाठशालालाई भट्टराईले ‘ग्लोबल नेपाली पाठशाला’ मा रूपान्तरण गरेका थिए । करिव ६ वर्ष उक्त पाठशालाको प्रिन्सिपलका रूपमा नेतृत्व गरेका विजयले टेक्ससका समाजसेवीहरूको सहयोगमा ‘सर्वोदय फाउण्डेसन नेपाल’ स्थापना गरी मानव सेवा गर्दै आएका छन् ।
सोही फाउण्डेसन मार्फत् रूपनगरमा पुस्तकालय स्थापना तथा सञ्चालनका लागि उनले झण्डै १३ लाख रूपैयाँ सहयोग गर्ने जानकारी क्याम्पस प्रमुख प्राध्यापक दीपक कुमार गजुरेलले दिएका छन् । क्याम्पस सञ्चालक समितिका अध्यक्ष गिरिराज संग्रौलाका अनुशार पुस्तकालयमा भौतिक पुस्तकका साथै केही हजार इ–पुस्तकसमेत राखिनेछ ।
पुस्तकालयमा पत्रपत्रिका, कम्प्युटर र इन्टरनेटसमेतको सुविधा उपलब्ध हुनेछ । प्रयोगकर्ताका लागि पुस्तकालयमा सदस्यता प्रणाली लागू गरी पुस्तक घर लगेर पढ्न पाउने व्यवस्थासमेत हुनेछ। अहिले पुस्तकालयका लागि फर्निचर निर्माणदेखि पुस्तक संकलन कार्य भइरहेको छ। पुस्तकालय २०८१ वैशाख १ गते उद्घाटन गर्ने तालिका छ ।