आज यो वर्षकै न्यून तापक्रम, काठमाडौंमा २.५ डिग्री सेल्सियस, तराईमा दिउँसै बत्ती

आज यो वर्षकै न्यून तापक्रम, काठमाडौंमा २.५ डिग्री सेल्सियस, तराईमा दिउँसै बत्ती

१३ माघ,काठमाडौं ।

काठमाडौंमा आज यो वर्षको हालसम्मकै न्यून तापक्रम मापन गरिएको छ । आज काठमाडौंको न्यूनतम तापक्रम २.५ डिग्री सेल्सियस रहेको छ । बिहान ८ः४५ बजे काठमाडौंको न्यूनतम तापक्रम २.५ डिग्री सेल्सियस मापन गरिएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । यसअघि बिहीबार र शुक्रबार काठमाडौंको न्यूनतम तापक्रम ३ डिग्री सेल्सियस रहेको थियो ।

काठमाडौंको तापक्रम थप घट्ने सम्भावनालाई नकार्न नसकिने मौसमविद् गंगा नगरकोटी बताउँछन् । “अझै तापक्रम घट्ने सम्भावना पनि हुन्छ । तर यसका लागि कुनै नयाँ प्रणाली विकास हुनुपर्छ । कतैबाट चिसो हावा आउनुपर्छ,” मौसमविद् भन्छन्, “पानी पर्यो भने पनि चिसो बढ्ने सम्भावना रहन्छ ।”

मौसमविद् नगरकोटीका अनुसार यो तापक्रम उपत्यकाका लागि यो वर्षको अहिलेसम्मकै कम हो। आज काठमाडौँ उपत्यकाको अधिकतम तापक्रमचाहिँ १६ देखि १८ डिग्री सेल्सियसबीच रहने अनुमान छ । काठमाण्डौ उपत्यकासहित देशैभर चिसो बढेको छ । हिमाली भेगको तापक्रम शूून्यबाट पनि तल झरेको छ भने तराई मधेशमा पनि तापक्रम एक÷दुुई डिग्रीसम्म पुुग्ने गरेको छ ।

तराईमा यतिबेला बाक्लो हुस्सु÷कुहिरो लागेको छ । जसका कारण सवारीसाधन चलाउन समस्या भइरहेको छ । हुस्सु÷कुहिरोका कारण बाटो देख्न मुस्किल पर्दा सवारीसाधन दिनमै बत्ती बालेर गुडिरहेका छन् । झन्डै दुई सातादेखि तराईको अवस्था यस्तै छ । कुनै दिन दिउँसो एकैछिन घाम देखिए पनि दुई साता यता अधिकांश दिन शीतलहर र हुस्सुमै बितेका छन् ।

विद्यालयहरूले जाडो बिदा सकेर पढाइ सुरु गरे पनि चिसो झन् बढ्दै गएको छ । स्कुल जाने बालबालिका र दैनिक मजदुरी गर्नुपर्ने वर्ग बढी मारमा परिरहेका छन् । उता जुम्लाको माइनस ५ दशमलव २, मुुस्ताङ जोमसोमको माइनस ५ दशमवल ५ र दोलखा जिरीको माइनस १ डिग्री सेल्सियस छ ।

यस्तै डडेलधुराको २ दशमलव १, दिपायलको १ दशमलव ९, विरेन्द्रनगरको २ दशमलव ६ र ताप्लेजुङको तापक्रम ३ डिग्री सेल्सियस रहेको छ । आज पनि देशका धेरै ठाउँमा बदली भएको छ । तर पानी पर्ने सम्भावना नरहेको महाशाखाले जनाएको छ । कोशी, गण्डकी र बाग्मती प्रदेशका पहाडी भूभागमा आंशिक बदली रहेको तथा अन्य पहाडी भूभागमा भने मौसम सफा नै रहेको मौसमविद्ले बताएका छन् ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.