२८ माघ,एजेन्सी ।
मलेसियामा जारी एसीसी महिला प्रिमियर कप क्रिकेट प्रतियोगितामा नेपालले शानदार रुपमा लगातार दोस्रो जित हासिल गरेको छ । नेपालले आइतबार खेलिएको आफ्नो दोस्रो खेलमा भुटानलाई आठ विकेटले पराजित गरेको हो । यसअघि आफ्नो पहिलो खेलमा नेपालले हङ्कङलाई पनि आठै विकेटको फराकिलो अन्तरले हराएको थियो ।
पहिले ब्याटिङ गरेको भुटानले निर्धारित २० ओभरमा चार विकेट गुमाएर ६५ रन बनाएको थियो । जवाफी ब्याटिङमा ओर्लिएको नेपालले ११.५ ओभरमा २ विकेट गुमाएर विजय लक्ष्य पुरा गर्यो । नेपाली टोलीको जितमा ओपनर सीता रानामगरले अविजित ३२ रनको योगदान गरिन् । उनले ३७ बलमा एक छक्का र दुई चौका पनि प्रहार गरिन् ।
रुबिना क्षेत्रीले पनि अविजित १७ रनको योगदान गरिन् । उनले २४ बलमा एक छक्का र एक चौका हिर्काइन् । ओपनर कविता कुँवर पाँच र कप्तान ईन्दू बर्मा एक रनमा पेभेलियन फर्किएका थिए । नेपालले अतिरिक्त रुपमा पनि ११ रन पाएको थियो । भुटानका बलर अञ्जु गुरुङ र अञ्जुली चालीले एक–एक विकेट हात पारेका थिए ।
त्यसअघि पहिले ब्याटिङ गरेको भुटानका लागि नगावाङ चोडेनले २५, कप्तान डेचेन वाङ्मोले १७ र छिरिङ जाङ्मोले १६ रन बनाए । नेपाली टोलीका बलर कविता कुँवर, सीता रानामगर, ईन्दू बर्मा र कविता जोशीले एक–एक विकेट लिए । लगातार दुई जितसँगै नेपालले क्वार्टरफाइनल प्रवेशको सम्भावना पनि बलियो बनाएको छ ।
नेपाल चार अंकसहित तालिकाको पहिलो स्थानमा छ । दुईमध्ये एक खेलमा जित हात पारेको भुटान दुई अंकसहित तालिकाको दोस्रो स्थानमा छ । भुटानले शनिबार भएको आफ्नो पहिलो खेलमा मालदिभ्सलाई ९४ रनले हराएको थियो । एक–एक खेलेका हङ्कङ र माल्दिभ्सले भने खाता खोल्न सकेका छैनन् ।
यी चारवटै टोली प्रतियोगिताको समूह ‘डी’ मा परेका छन् । नेपाली टोलीले समूहगत चरणमा आफ्नो तेस्रो तथा अन्तिम खेल मंगलबार मालदिभ्ससँग खेल्नेछ । एसियाली क्रिकेट काउन्सिल (एसीसी) ले महिला प्रिमियर कप पहिलो पटक आयोजना गरेको हो ।
यो प्रतियोगिताको फाइनलमा पुग्ने दुई टोलीले आगामी जुलाईमा आयोजना हुने महिला टी–२० एसिया कपमा सहभागिता जनाउन पाउने छ । एसिया कपमा भारत, पाकिस्तान, बङ्गलादेश, श्रीलङ्का र छनोट चरणबाट आउने दुई टोली सहभागी हुनेछन् । फेब्रुअरी १८ तारिखसम्म सञ्चालन हुने महिला प्रिमियर कपमा कुल १६ वटा राष्ट्रको सहभागिता रहेको छ ।