६ फागुन ,एजेन्सी ।
क्रिस्टियानो रोनाल्डो सम्मिलित साउदी क्लब अल नासरले साउदी प्रो लिग अन्तर्गत गएराती सम्पन्न खेलमा जित हात पारेको छ । अल नासरले घरेलु मैदानमा अल फतेह माथि २–१ को जित दर्ता गरेको हो । अल नासरको जितमा रोनाल्डोसंगै ओटाभियोले एक एक गोल गरे ।
सुल्तान अल घनामको पासको सदुपयोग गर्दै खेलको १७औं मिनेटमा गोल गरेर रोनाल्डोले खेलमा आफ्नो टोलीलाई अग्रता दिलाएका थिए । तर २९औं मिनेटमा सलेम अल नाज्दीले बराबरी गोल गर्दै अल फतेहलाई खेलमा फर्काए । ७२औं मिनेटमा अल घनामकै पासमा ओटाभियोले हेडर मार्फत गोल गर्दै खेलमा अल नासरलाई जित दिलाए ।
जित पछि २० खेलमा ४९ अंक बटुलेको अल नासर लिग तालिकाको दोस्रो स्थानमा छ । पहिलो स्थानमा रहेको अल हिलालको १९ खेलमा ५३ अंक छ । अल फतेह भने २० खेलमा २९ अंकसहित सातौं स्थानमा छ । उता रोबर्ट लेवान्डोस्कीले इन्ज्युरी समयको सातौं मिनेटमा गोल गरेपछि बार्सिलानाले स्पेनी ला लिगामा सेल्टा भिगोलाई शनिबार २–१ ले हराएको छ ।
पेनाल्टीमा निर्णायक गोल गरेका लेवान्डोस्कीले पहिलो गोल ४५औं मिनेटमा गरेका थिए । लागो एस्पासले सेल्टा भिगोको लागि दोस्रो हाफको दोस्रो मिनेटमा बराबरी गोल फर्काएका थिए । यो जितपछि बार्सिलोनाको २५ खेलबाट ५४ अंक भएको छ र तेस्रो स्थानमा छ । एटलेटिको म्याड्रिड ५१ अंकमा चौथो स्थानमा छ ।
एटलेटिकोले लास पाल्मासलाई ५–० ले हराएको थियो । ओसासुनाले काडिजलाई २–० ले पराजित थियो। भ्यालेन्सिया र सेभियाबीचको खेल गोलरहित बराबरीमा टुंगियो । ६१ अंकसहित शीर्षस्थानको रियल म्याड्रिडले आज अल्मेरियासँग खेल्नेछ । यता खेलको अन्त्यतिर रोड्रिगोले गोल गरेपछि म्यानचेस्टर सिटीले शनिबार इंग्लिस प्रिमियर लिगमा हार बाट जोगिएको छ ।
घरेलु मैदानमा सिटीले चेल्सीलाई १–१ को बराबरीमा रोकेको थियो । यो सँगै सिटीले घरेलु मैदानमा अपराजित यात्रालाई कायम राख्यो । बराबरीले टोलीको उपाधि दौडमा केही धक्का लागेको छ । उपाधि होडमा रहेका लिभरपुल र आर्सनलले जित निकाल्दा सिटीले भने अंक बाढेका हुन् ।
शीर्षस्थानको लिभरपुलको २५ खेलबाट ५७ अंक छ । त्यत्तिकै खेलबाट दोस्रो स्थानको आर्सनलको ५५ अंक छ । एक खेल कम खेलेको सिटीको ५३ अंक छ । चेल्सी ३५ अंकसहित दशौं स्थानमा छ ।