६ फागुन ,काठमाण्डौ ।
रौतहटको इशनाथ नगरपालिकामा कर्फ्यु लगाइएको छ । सरस्वतीको मूर्ति विसर्जनका क्रममा झडप भएपछि शनिबार अपराह्न ५ बजेदेखि लगाइएको अनिश्चितकालीन कर्फ्यु यथावत् छ । इशनाथ पूर्व जोकहा गाउँ, पश्चिम सानो जोकहा गाउँ, उत्तरमा रामपुरखाप एपीएफ बीओपी र दक्षिणमा जयनगर प्रहरी चौकीसम्म कर्फ्यु लागू गरिएको जिल्ला प्रशासन कार्यालय रौतहटले जनाएको छ ।
इशनाथ नगरपालिका–६ र ७ मा सरस्वती मूर्ति बिसर्जनका क्रममा मोतीपुरमा दुई पक्षबीच विवाद र झडप भएको विषयमा शनिबार घिउरा भन्ने ठाउँमा पुनः झडप भएको भन्दै जिल्ला प्रशासन कार्यालय रौहतहटले कर्फ्यु लगाएको हो । रौतहटका प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले कर्फ्यु यथावत् रहेको र विवादित पक्षबीच सहमति नभएसम्म कर्फ्यु हटाउने सम्भावना नरहेको बताएका छन् ।
दुई पक्षबीच सहमतिका लागि आज आफूले सबै राजनीतिक दल, नागरिक समाजसहितको सर्वपक्षीय बैठक राख्ने तयारी गरिरहेको उनले बताए । यही फागुन ३ गते सरस्वती मूर्ति विसर्जनका क्रममा विवाद हुँदा इशनाथ नगरपालिकामा झडप भएको थियो ।
सोही विषयमा आइतबार पनि फेरि झडपको स्थिति देखिएपछि स्थानीय प्रशासनले अपराह्न ५ बजेदेखि अर्काे आदेश नभएसम्मका लागि त्यहाँ कर्फ्यु लगाएको हो । कर्फ्यु लगाइएको क्षेत्रमा आवतजावत गर्न, भेला हुन, हिँडडुल गर्न, जुलुस तथा ¥याली निकाल्न प्रतिबन्ध लगाइएको जारी कर्फ्यु आदेशमा जनाइएको छ ।