७ फागुन , काठमाण्डौ ।
मेलम्ची खानेपानी आयोजनामा भएको भ्रष्टचारमा मुछिएका पूर्व सचिव भीम उपाध्यायले मेलम्ची खानेपानी आयोजनामा आफूले कुनै गल्ती नगरेको दाबी गरेका छन् । मेलम्ची खानेपानीको तत्कालीन ठेकेदार सीएमसी कम्पनीलाई गैरकानुनीरुपमा पेस्की रकम दिएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उपाध्यायसहित १८ व्यक्ति तथा फर्मविरुद्ध मुद्दा दायर गरेपछि उनले यस्तो प्रतिक्रिया दिएका हुन् ।
उपाध्यायसँग चार करोड ११ लाख ३४ हजार २७९ रुपैयाँ ९२ पैसा बिगो माग दाबी लिई अख्तियारले आइतबार विशेष अदालतमा मुद्दा दायर गरेको छ । सामाजिक सञ्जालमा लेख्दै उपाध्यायले मिटिङमा चिया खाजा त्यो पनि शाकाहारीबाहेक केही नखाएको जिकिर गरेका छन् । उनले स्वदेश फर्कनासाथ अदालतमा आफ्नो सफाइका लागि उपस्थित हुने जानकारी दिए ।
अवकाश लिएको ६ वर्ष बिती सकेको जानकारी गराउँदै उनले लेखेका छन्, ‘बुझ्नुस् रु ८ अर्बको ठेक्कामा रु ७ अर्बको भ्रष्टाचार ? त्यो पनि सबै प्रक्रिया र बैङ्क ग्यारेन्टी लिएर दिएको पेस्कीको ब्याज गणना गरेर उक्त ब्याज र सोको स्याज समेत जोडी निकालिएको हिसाब रकम हानी नोक्सानी गरेको आरोपमा ! त्यो पनि बोर्डको अध्यक्ष जसको कुनै कार्यकारी अधिकार हुँदैन, प्रोजेक्ट व्यवस्थापनले विज्ञहरूको सिफारिसमा ल्याएको अनुमोदन प्रस्ताव अनुमोदन गर्दा !’
उनले सामाजिक सञ्जालमा लेखेका छन् । नेपाल जागेको बेला म सुतेको थिएँ । उठ्दा नेपाल सुतिसकेको छ । उठेपछि समाचार थाहा भयो, मुद्दा के हो विवरण बुझेपछि मेरो प्रतिक्रिया आउने नै छ ।मैले डेढ वर्ष अघि अख्तियारमा पुगेर यसबारेमा आफ्नो लिखित प्रतिक्रिया दिएको थिएँ । यो मुद्दा दायर गर्न पर्ने विषय नै हैन, प्रोजेक्ट फिनान्सियल एवं टेक्निकल म्यानेजमेन्टको ईस्यु मात्र हो भनेको थिएँ । तर अख्तियारले आफ्नो व्याख्यात्मक अधिकार प्रयोग गरेर मुद्दा दायर गरेछ । मुद्दामा रत्ती दम छैन।
अधिकार हुनेले अधिकारको दुरुपयोग गर्न सक्छन् । यसको दोष लिने कुरा हुँदैन । मेलम्ची टनेल प्रोजेक्ट कूल रु ८ अर्बको ठेक्का हो, राज्यको हिनामिना ७ अर्ब भएको भनेर मुद्दा परेको भनिएको रहेछ । अभियोजनको डिटेल अझै अध्ययन गर्न पाएको छैन । मसँग सोधिएको कुरा तपाईँ अध्यक्ष भएको मेलम्ची विकास बोर्डका ५ सदस्यबाट अनुमोदन गराई किन ठेकेदारलाई बिना ब्याज पेस्की दिएको भनिएको हो, जति रकम पेस्की दिएको छ त्यसको ब्याज राज्यलाई हानी ग¥यो भनिएको रहेछ । त्यो पेस्कीको ब्याज र ब्याजको स्याज वर्षौँको जोडेर बिगो कायम गरेको बुझियो ।
अरूको बारेमा मलाई खास थाहा भएन तर मेरो बारेको कुरा यति रहेछ । म ०७३ कार्तिक देखि ०७४ भदौ १२ गतेसम्म खानेपानी मन्त्रालयको सचिव पदमा १० महिना काम गरेको थिएँ, त्यसकै हैसियतमा मेलम्ची बोर्डको पदेन अध्यक्ष थिएँ । म ३ करोड नेपालीका सामु ढुक्क सँग भन्छु, मबाट देश हितको काम बाहेक मेलम्चीमा कुनै गल्ती गरेको थिएन, छैन । देशको हितमा काम गर्नु गल्ती हुँदैन त्यो पनि काकाकुल ४० लाख उपत्यकावासीलाई पानी खुवाउने पवित्र काम गर्दा । मेलम्चीका कसैले मलाई १ रुपैयाँ कुनै बेला दिएको छन् भने भनुन् । मिटिङमा चिया खाजा त्यो पनि शाकाहारीबाहेक केही खाएको पनि छैन ।
रिटायर भएको नै अहिले ६ वर्ष बितिसकेको छ । खैर विशेष अदालतमा मुद्दा परिसकेको छ । विषय प्राविधिक बनेको छ । बदनियत नभई फौजदारी कसुर प्रमाणित हुने कुरा पनि हुँदैन । स्वदेश फर्कनासाथ अदालतमा आफ्नो सफाइका लागि उपस्थित हुने नै छु । उनले आफ्ना सबै शुभचिन्तकहरूलाई मन खिन्न नपार्न समेत आग्रह गरेका छन् । उनले भनेका छन्, कहिले काहीँ भाइरस लागेर रुघाखोकी लाग्छ । सामान्य उपचार गर्नुपर्छ । मेरो हकमा यो मुद्दामा रौँ बराबरको पनि दम छैन ।
बुझ्नुस् रु ८ अर्बको ठेक्कामा रु ७ अर्बको भ्रष्टाचार ? त्यो पनि सबै प्रक्रिया र बैङ्क ग्यारेन्टी लिएर दिएको पेस्कीको ब्याज गणना गरेर उक्त ब्याज र सोको स्याज समेत जोडी निकालिएको हिसाब रकम हानी नोक्सानी गरेको आरोपमा ! त्यो पनि बोर्डको अध्यक्ष जसको कुनै कार्यकारी अधिकार हुँदैन, प्रोजेक्ट व्यवस्थापनले विज्ञहरूको सिफारिसमा ल्याएको अनुमोदन प्रस्ताव अनुमोदन गर्दा ! उपाध्याय सामाजिक सञ्जालमा चर्चित नाम हो । उनले फेसबुकमा सुशासन र भ्रष्टाचारविरुद्ध नै अधिकांश स्ट्याटस लेख्ने गरेका छन् । आइतबार तिनै पूर्वसचिवविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेको छ ।