१० फागुन , एजेन्सी ।
रुसी सेनामा भर्ती भएका थप एक नेपालीको मृत्यु भएको छ । रोजगारीका लागि करिब ६ महिनाअघि रूसी सेनामा भर्ती भएका बागलुङको ताराखोला गाउँपालिका–२ का ३६ वर्षीय जितबहादुर विकको मृत्यु भएको उनले परिवारले बताएको छ । गाउँमा सवारीचालकका रूपमा काम गर्दै आएका विक गत असोजमा दलालमार्फत सेनामा भर्ती हुन रूस पुगेका थिए ।
रूसी सेनामा भर्ती भएलगत्तै युक्रेनी सेनाको गोली लागेर गम्भीर घाइते भएका विकको रूसको रोस्तोभमा उपचारका क्रममा मृत्यु भएको हो । विकको गत माघ २० गते मृत्यु भए पनि परिवारले दुईतीन दिनअघि मात्रै जानकारी पाएको ताराखोला गाउँपालिका–२ का वडा अध्यक्ष भद्रबहादुर घर्तीले जानकारी दिए ।
दलालमार्फत रूस पुगेका मृतक विकका दलालले उनको मृत्युको खबर पोर्चुगलमा रहेका कान्छा भाइलाई जानकारी दिएका थिए । उनकै भाइले मृत्युको खबर घरमा सुनाएका हुन् । मृतक विकको परिवारले बुधवार कुशको शव बनाएर आफ्नो परम्पराअनुसार अन्तिम संस्कार समेत गरेको वडाध्यक्ष घर्तीले बताएका छन् ।
विकको मृत्युको प्रमाणपत्र समेत प्राप्त भएपछि परिवारले अन्तिम संस्कार गरेको हो । मृतक विकको शव ल्याउन परिवारले सरकारसँग गुहार समेत मागेका छन् तर सरकारले अहिलेसम्म यसअघि मृत्यु भएका अन्य १३ जना नेपालीको समेत शव ल्याउन सकेको छैन । अझै पनि रूसी सेनामा भर्ती भएका नेपालीहरूको यकिन तथ्यांक सरकारसँग छैन ।
दलालमार्फत पैसा कमाउने लोभमा अवैध बाटो हुँदै रूस पुग्नेको संख्या २ सयभन्दा माथि रहेको सरकारको दाबी छ । सरकारमाथि त्याहा रहेका नेपालीहरुको उद्धारका लागि सांसदहरुले समेत दबाब दिइरहेका छन् । परराष्ट्र मन्त्रालयले रूसी सेनामा भर्ना भएकामध्ये एक सयभन्दा धेरै बेपत्ता रहेको जनाएको छ ।
नेपालले रुसलाई आफ्नो सेनामा भर्ना भएका नेपालीलाई फिर्ता पठाउन र नेपालीलाई रुसी सेनामा भर्ती नगर्न पनि आग्रह गरेको छ । यस्तै नेपाल सरकारको लामो कुटनीतिक प्रयासपछि रुस युक्रेनसँगको युद्धमा मारिएका नेपालीका परिवारलाई क्षतिपूर्ति दिन सहमत भएको छ । रुसले यसका लागि मस्कोस्थित नेपाली दूतावासमार्फत परराष्ट्र मन्त्रालयलाई क्षतिपूर्ति रकम पठाउने जनाएको हो ।
त्यसअघि भने क्षतिपूर्ति रकम दाबी गर्न सम्बन्धित परिवार नै मस्को आउनुपर्ने रुसको सर्त थियो । अब रुसले मस्कोस्थित दूतावासलाई क्षतिपूर्ति रकम दिने र उक्त रकम परराष्ट्र मन्त्रालय हुँदै जिल्ला प्रशासन कार्यालयमार्फत सम्बन्धित परिवारका सदस्यले पाउने भएका छन् । यद्यपि सरकारले आधिकारिक रुपमा रुसले क्षतिपुर्ति दिने औपचारिक जानकारी भने अहिलेसम्म दिन सकेको छैन् ।