१३ फागुन, एजेन्सी ।
आगामी २०२५ मा हुने एसिया कपमा पुग्ने अवसरका रुपमा रहेको एसिसी प्रिमियर कपमा नेपाल समूह ‘ए’ मा परेको छ। नेपालको समूहमा हङकङ, मलेसिया, कतार र साउदी अरेबिया छन्। टी–२० फर्म्याटमा हुने कपमा आयोजक ओमान समूह ‘बी’ मा छ। समूहमा ओमानसहित युएई, कुवेत, बहराइन र कम्बोडिया छन्।
एसियाली क्रिकेट काउन्सिलले आज प्रकाशित गरेको खेल तालिकाअनुसार नेपालले पहिलो खेल मलेसियासँग १२ अप्रिलमा खेल्नेछ। यस्तै नेपालले दोस्रो खेल कतारसँग १३ अप्रिलमा, तेस्रो खेल हङकङसँग १५ अप्रिल र चौथो खेल साउदी अरेबियासँग १७ अप्रिलमा खेल्नेछ। समूहमा शीर्ष दुई टिम सेमिफाइनल पुग्नेछन्।
सेमिफाइनल १९ अप्रिल र फाइनल २१ अप्रिलमा हुनेछ। समूहगत चरणको खेलपछि दुबै समूहबाट तालिकाको माथिल्लो स्थानमा रहने दुई–दुई टोली प्रतियोगिताको सेमिफाइनलमा पुग्नेछन् । दुबै सेमिफाइनल खेल अप्रिल १९ तारिखमा खेलिने छ । त्यसपछि सेमिफाइनलमा विजयी हुने दुई टोलीबिच अप्रिल २१ तारिखमा फाइनल खेल हुनेछ ।
त्यसअघि अप्रिल २० तारिखमा सेमिफाइनलमा पराजित हुने दुई टोलीबिच तेस्रो स्थानका लागि खेल हुनेछ । एसीसी पुरुष प्रिमियर कपको यो दोस्रो संस्करण हो । सन् २०२५ मा आयोजना हुने एसिया कपका लागि यो छनौट प्रतियोगिता पनि हो । यो प्रतियोगिताको विजेता टोलीले एसिया कपमा सहभागिता जनाउने अवसर पाउने छ ।
सन् २०२५ को एसिया कप टी–२० फर्म्याटमा हुनेछ। शीर्ष तीन टिमले एसिसी इमर्जिङ टिम्स एसिया कप खेल्नेछन्। प्रतियोगितालाई आइसिसी टी–२० विश्वकपको तयारीको रुपमा लिइएको छ। जुनमा अमेरिका र वेस्ट इन्डिजमा हुने विश्वकपमा नेपाल समूह ’डी’ मा छ। नेपालले २०२३को एसिया कपमा सहभागिता जनाइसकेको छ । जहाँ पराजय खेपे पनि नेपाली खेलाडीहरुले उत्कृष्ट प्रर्दशन गरेका थिए ।