फागुन १८ , एजेन्सी ।
बंगलादेशको राजधानी ढाकाको बेलिरोड क्षेत्रमा एक व्यापारिक भवनमा आगलागी भएको छ । आगलागीमा कम्तिमा ४३ जनाको मृत्यु भएको छ । २० जना घाइते भएका छन् । मृत्यु भएका २० जनाको शव उनीहरूका परिवारलाई बुझाइएको अन्तराष्ट्रिय संचारमाध्यामहरुले उल्लेख गरेका छन् ।
सात तले भवनमा बिहीबार राति भएको आगलागीबाट अचेत अवस्थामा रहेका ४२ जनासहित ७० जनालाई अग्निनियन्त्रकले उद्धार गरेका छन् । भवनको पहिलो तल्लामा रहेको ‘कच्ची भाइ’ नामक रेस्टुरेन्टबाट राति ९ः४५ बजे आगलागी सुरु भएको थियो । आगो अन्य तलामा फैलिँदा धेरै मानिस रेस्टुरेन्टमा खाना खाइरहेका थिए ।
आगो पूरै भवनमा फैलिएपछिन दर्जनौँ मानिस यसमा फसेका थिए । अग्नि नियन्त्रक अधिकारीहरूका अनुसार आगो नियन्त्रणमा लिइएको र आगलागीको कारणबारे अनुसन्धान भइरहेको छ । बङ्गलादेशका स्वास्थ्य मन्त्री सामन्त लाल सेनका अनुसार ढाका मेडिकल कलेज अस्पतालमा महिला र बालबालिकासहित कम्तीमा ३३ जनालाई मृत घोषणा गरिएको छ ।
सहरको मुख्य बर्न अस्पतालमा कम्तीमा १० जनाको मृत्यु भएको बताइएको छ । सेनाले अरू दर्जनौँ घाइतेलाई उपचारका लागि त्यहाँ पठाएको बताइएको छ । रेष्टुरा रहेको भवन सात तले थियो । यो भवनमा अन्य रेस्टुरेन्टहरू, कपडा पसल, फोन पसल थिए ।
आगो लागेपछि मानिसहरू आत्तिएर कोही भवनको माथिल्लो तलातिर चढ्दै थिए । कोही पाइपबाट तल ओर्लिएका थिए भने केही भर्याङबाट तथा झ्यालबाट हामफालेका थिए ।