फागुन १८ , एजेन्सी।
गाजामा सहायताको पर्खाइमा रहेका बेला ११२ प्यालेस्टाइनी मारिएका छन् भने ७६० जना घाइते भएका छन् । भीडले गाजा सहरको दक्षिणपश्चिमी तटीय सडकमा लरीहरूलाई घेरेका थिए । यो सबै इजरायली ट्याङ्कहरूको उपस्थितिमा भएको थियो । इजरायली सेनाले ट्याङ्कहरूले चेतावनी स्वरुप गोली चलाएपनि सहायता टोलीमाथि आक्रमण नरोकिएको बताएको छ ।
केही प्यालेस्टाइनीहरूले भने ट्याङ्कहरूले उनीहरूमाथि सीधै गोली हानेको बताएका छन् । बीबीसी रिपोर्टका अनुसार एक प्यालेस्टाइनीले लरी चालकले गाडीलाई अगाडि धकेलेका कारण धेरै मानिसलाई किचेको बताएका छन् । इजरायली हवाई फुटेजले लरीहरूमा र वरपर सयौं मानिसहरू देखाएको छ।
गाजाको स्वास्थ्य मन्त्रालयले मृतक र घाइतेको तथ्यांक दिँदै इजरायललाई ’नरसंहार’ गरेको आरोप लगाएको छ। घटनाबारे छलफल गर्न संयुक्त राष्ट्र सुरक्षा परिषद्को आकस्मिक बैठक बसेको छ । फ्रान्सले खाना लिन खोजेका मानिसहरूमाथि गोली चलाउनु अनुचित भएको बताएको छ।
यसप्रति अमेरिकी राष्ट्रपतिले पनि चिन्ता व्यक्त गरेका छन् । इजरायली अधिकारीहरूले सैनिकहरूले गोली चलाएको स्वीकार गरेका छन्। भीडबाट धम्की पाएपछि सिपाहीहरूले गोली चलाएको उनीहरुले बताएका छन्। यससँगै उनीहरुको गोलीबारीमा १० जनाभन्दा बढीको मृत्यु नभएको पनि बताइएको छ ।
अक्टोबर ७ मा हमासले गरेको आक्रमणको जवाफमा गाजा सहर र सम्पूर्ण उत्तरी गाजालाई इजरायली हवाई, समुद्री र स्थल हमलामा निशाना बनाइएको छ। यी क्षेत्रहरू पूर्ण रूपमा ध्वस्त भएका छन् र धेरै महिनादेखि यस क्षेत्रबाट पलायन भएका छन् । कुनै पनि सहायता उनीहरूमा पुग्न सकेको छैन।
योसँगै करिब पाँच महिनाअघि सुरु भएको इजरायल–हमास युद्धमा मारिनेको संख्या ३० हजारभन्दा बढी पुगेको छ । गाजा स्वास्थ्य अधिकारीहरूले यो जानकारी दिएका हुन् । स्वास्थ्य मन्त्रालयका अनुसार युद्धमा मारिने प्यालेस्टिनीको संख्या ३० हजार ३५ पुगेको छ भने ७० हजार ४५७ जना घाइते भएका छन् ।
यस तथ्याङ्कमा मारिएका सर्वसाधारण र सैनिकको विवरण नआए पनि झण्डै दुई तिहाइ महिला र बालबालिका रहेका छन् । यता सहायता समूहहरूले गाजाको धेरैजसो क्षेत्रमा मानवीय सहायता पु¥याउन लगभग असम्भव भएको बताएका छन् । संयुक्त राष्ट्रसंघले गाजाको २३ लाख प्यालेस्टिनी जनसंख्याको एक चौथाई भोकमरीको सामना गर्न बाध्य भएको बताएको छ ।
स्वास्थ्य मन्त्रालयका प्रवक्ता अशरफ अल किद्राले बिहीबारको आक्रमणमा कम्तीमा ११२ जनाको ज्यान गएको र ७६० जना घाइते भएको बताएका छन् ।