२० फागुन, एजेन्सी ।
हङकङमा अर्को साता हुने टी–२० आई त्रिकोणात्मक सिरिजका लागि नेपाली टोली घोषणा भएको छ । हङकङ क्रिकेट संघले यही मार्च ९ देखि १३ तारिखसम्म नेपाल, हङकङ र पपुवान्युगिनी (पीएनजी) सम्मिलित टी–२० सिरिज सञ्चालन गर्दै छ । सो सिरिजका लागि क्यानले रोहित पौडेलको कप्तानीमा केही नयाँ खेलाडी समेटेर १४ सदस्यीय नेपाली टोलीको घोषणा गरेको छ ।
नेपाली टोलीमा ए टिमका कप्तान विनोद भण्डारी, सन्दीप जोरा, राशिद खानसहित युवा खेलाडी आकाश चन्द, लोकेश बम, सागर ढकाल पनि यसपटक टिममा परेका छन् । यस्तै कुशल भुर्तेल, गुल्शन झा, करण केसी, प्रतिस जिसी, आरिफ शेख, विवेक यादव र अविनाश बोहरा छन् ।
राष्ट्रिय टोलीका नियमित सदस्य सोमपाल कामी र कुशल मल्ल, दीपेन्द्रसिंह ऐरी, आशिफ शेख, ललितराज राजवंशी भने टिममा छैनन् । नामिबिया र नेदरल्याण्ड्ससँगको त्रिकोणात्मक सिरिज खेलेका अनिल साहसमेत छैनन् । सिरिज अन्तर्गत फागुन २७ (१० मार्च) मा नेपाल र हङकङबीच खेल हुनेछ ।
फागुन २९ मा नेपालले पवुवा न्युगिनीसँग खेल्नेछ । दोस्रो खेलमा सोही दिन हङकङ र पपुवा न्युगिनीबीच दोस्रो खेल हुनेछ । फागुन ३० मा त्रिकोणात्मक सिरिजको फाइनलमा पुग्ने दुई टोलीबीच प्रतिस्पर्धा हुनेछ । नेपालले अहिले आफ्नै घरेलु मैदानमा नामिबिया र नेदरल्याण्डस्सँग त्रिकोणात्मक सिरिज खेलिरहेको छ ।