२१ फागुन , काठमाण्डौ ।
पछिल्लो २४ घण्टामा राजनीतिक घटनाक्रम तिव्ररुपमा विकास भएको छ । नेपाली कांग्रेस नेतृत्वको सत्ता गठबन्धन छाड्दै नेकपा माओवादी केन्द्रले नेकपा एमाले लगायतका दलहरुसँग गठबन्धन गर्ने भएको छ । नयाँ गठबन्धनमा सहभागी हुने दलहरुलाई सामेल गराएर प्रधानमन्त्री पुष्पकमल दाहालले मन्त्रिपरिषद्लाई पुनर्गठन गर्ने तयारी गरेका छन् ।
यसअघि एमालेसहितको गठबन्धको समयमा प्रचण्डको सरकारमा सहभागी भएको राष्ट्रिय स्वतन्त्र पार्टी यसपटक पनि सरकारमा सहभागी हुँदै छ । रास्वपाले ४ मन्त्री र एक राज्यमन्त्री पाउने नयाँ बनेको गठबन्धनमा सहमति भएको बताइएको छ । रास्वपाका एक नेताले पार्टी सभापति रवि लामछानेको नतृत्वमा सरकारमा सहभागी हुने विषयमा छलफल भएको बताए ।
गठबन्धनमा सहभागी हुने अन्य दलका नेताहरुका आधारमा पार्टी उपाध्यक्ष स्वर्णिम वाग्लेको नेतृत्वमा पनि सरकारमा सहभागी हुन सकिने विषयमा पार्टीमा छलफल भएको उनको दाबी छ । तर, सरकारमा सहभागी हुने र मन्त्रीहरु पठाउने बारेको निर्णय गर्ने अधिकार भने पार्टीले लामिछानेलाई दिएको छ । यद्यपि पहिलो चरणमा उपसभापति डिपी अर्यालले पठाउने संकेत गरेका छन् ।
उनी यसअघि श्रम मन्त्री थिए । यता नयाँ गबन्धनमा राप्रपा भने नसमेटिने भएको छ । प्रधानमन्त्रीसमेत रहेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राप्रपालाई गठबन्धनमा नलिने सहमति भएको आफ्ना नेताहरूलाई बताएका छन् । एमाले अध्यक्ष केपी शर्मा ओलीले पनि राप्रपालाई नयाँ गठबन्धनमा नलिने बताएका छन् ।
एजेन्डा नमिल्ने भएकाले राप्रपालाई गठबन्धनमा नसमेट्ने समझादारी भएको ओलीको भनाइ छ । यता नागरिक उन्मुक्ति पार्टी भने नयाँ समीकरणमा सकारात्मक नै देखिएको छ । नाउपाले संघ र प्रदेशका सांसदको बैठक बोलाएको छ । नयाँ राजनीतिक परिस्थितिबारे निर्णय लिन नागरिक उन्मुक्तिले सांसदहरुको बैठक बोलाएको हो ।
संघ र प्रदेशका सांसदको बैठक बसेर गठबन्धनमा जाने नजाने निर्णय लिने पार्टीका अध्यक्ष रेशम चौधरीले जानकारी गराए । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई बालुवाटारमा भेटेर फर्कने क्रममा चौधरीले भने, ‘त्यो बैठकले निर्णय गर्छ । सत्ता गठबन्धनमा जोडिन सकारात्मक छौं ।’ अबको गठबन्धनमा सहभागी हुँदा पार्टीले उठाउँदै आएका मुद्दा सम्बोधन हुने चौधरीले विश्वास व्यक्त गरे । संघमा ४ र प्रदेश १२ जना नागरिक उन्मुक्तिका सांसद छन् ।