२९ फागुन , काठमाण्डौ।
हङकङमा जारी त्रिकोणात्मक टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृंखलाको उपाधिका लागि नेपालले पपुवा न्यु गिनी (पीएनजी)सँग खेल्ने भएको छ । पपुवा न्युगिनीलाई नै ८५ रनले हराउँदै शृङ्खलाको फाइनलमा पुगेको नेपालले उपाधिका लागि पनि पीएनजीसँगै खेल्ने पक्का भएको हो । मंगलबार खेलिएको दोस्रो खेलमा आयोजक हङकङमाथि १० विकेटको सजिलो जित हात पार्दै पीएनजी शृंखलाको फाइनलमा पुगेको हो ।
टस जिती पहिले ब्याटिङको निणर्य लिएको हङकङले १८.३ ओभरमा अलआउट हुनुअघि एक सय २१ रन बनाएको थियो । जवाफी ब्याटिङमा ओर्लिएको पीएनजीले भने १२.४ ओभरमै कुनै पनि विकेट नगुमाई एक सय २४ रन बनाउँदै विजयलक्ष्य पार ग¥यो । पीएनजीलाई दुवै ओपनरले नै जितसम्म डो¥याएका थिए । पीएनजीका दुवै ओपनरले अर्धशतक बनाए ।
टोनी उराले टोलीका लागि अविजित ५१ रनको योगदान गरे । अर्का ओपनर सेसे बउले अविजित ६१ रन बनाए । पहिले ब्याटिङ गरेको हङकङका लागि जिसन अलीले अविजित ५५ रन बनाएका थिए । पीएनजीका बलर काबुआ मोरिया, एली नाओ, अनाग्रेस भाला र सेसे बउले दुई–दुई विकेट लिएका थिए ।
त्यसअघि आजै खेलिएको पहिलो खेलमा नेपालले पीएनजीलाई ८५ रनले हराएको थियो । टस हारी पहिले ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर एक सय ९८ रन बनाएको थियो । जवाफी ब्याटिङमा ओर्लिएको पीएनजीले भने १६.१ ओभरमा अलआउट हुनुअघि एक सय १३ रनमात्र बनाउन सकेको थियो ।
नेपाली टोलीको जितमा कुशल भुर्तेलले ब्याटिङ र बलिङ दुबैमा उत्कृष्ट प्रदर्शन गरेका थिए । ओपनर ब्याट्सम्यान कुशल भुर्तेलले ५९ रन बनाए भने चार विकेट पनि लिएका थिए । कुशल भुर्तेल टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा एक हजार रन पुरा गर्ने ब्याट्सम्यान पनि बनेका छन् ।
२७ वर्षीय कुशलले हालसम्म ३६ टी–२० अन्तर्राष्ट्रिय खेल्दै एक शतक र आठ अर्धशतकको मद्दतले कुल एक हजार आठ रन बनाएका छन् । नेपाल र पीएनजीबिचको फाइनल खेल बुधबार विहान ११ः४५ बजे सुरु हुनेछ । त्यसअघि बुधबार विहान हङकङ र हङकङको ‘ए’ टोलीबीच तेस्रो स्थानका लागि खेल हुनेछ ।