११ चैत , काठमाण्डौ ।
नेकपा एमालेले वैशाख १५ गते हुने उपनिर्वाचनमा इलाम क्षेत्र नम्बर २ बाट सुहाङ नेम्वाङलाई उम्मेदवार बनाउने निर्णय गरेको छ । आइतबार केन्द्रीय कार्यालय च्यासलमा बसेको सचिवालय बैठकले नेम्वाङलाई उम्मेदवार बनाउने निर्णय गरेको हो । यस्तै एमाले प्रदेश सभा अन्तर्गत बझाङ १ बाट दामनबाहादुर भण्डारीलाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।
एमालेको उम्मेदवारलाई विजयी गराउन सम्पूर्ण शक्ति केन्द्रित गर्ने निर्णय गरेको उपमहासचिव प्रदीप ज्ञवालीलेले बताए । सुहाङ एमालेका दिवङ्गत नेता सुवास नेम्वाङका कान्छा छोरा हुन् । हृदयघातबाट सुवासको गएको भदौ २६ गते निधन भएको थियो। ४ मंसिर २०७९ को आम निर्वाचनमा इलाम क्षेत्र नम्बर २ बाट सुवासचन्द्र नेम्वाङ प्रतिनिधि सभा सदस्य बनेका थिए ।
नेम्वाङले सत्ता गठबन्धनका तर्फबाट उम्मेदवार रहेका नेपाली कांग्रेसका डम्बरबहादुर खड्कालाई पराजित गरेका थिए । इलाम–२ मा २०५६ सालयता सधैं सहज जित निकालेका सुवास नेम्वाङले ११४ मतको झिनो अन्तरले मात्रै खड्कालाई हराएका थिए। नेम्वाङको निधनपछि रिक्त यो क्षेत्रमा उपनिर्वाचन हुँदैछ । सुहाङले बाबुकै विरासत थाम्ने भएका हुन् ।
सुवास नेम्वाङ एमालेकामात्रै नभएर राष्ट्रिय राजनीतिमै बलियो प्रभाव राखेका नेता थिए । बुवा सुवासको निधनपछि सुहाङको गतिविधि पनि बढेको छ । उनले इलाम सहित विभिन्न ठाउँमा भएका सामाजिक–सांस्कृतिक, राजनीतिक र खेलकुद क्षेत्रका फोरमहरुमा सम्बोधन गरिरहेका छन् । ती सम्बोधनहरुमा बुवा सुवास, गृह जिल्ला इलाम, युवा पुस्ता र राष्ट्रिय राजनीतिलाई जोड दिने गरेका छन् ।
सुहाङ पेशाले कानुन व्यवसायी हुन्। उनी फुटबल क्लब पनि चलाउँछन्। सुहाङ इलाममा सामाजिक काममा पनि सक्रिय छन् । एमालेसहितको गठबन्धन केन्द्रमा बनेपनि उपनिर्वाचनमा स्वस्थ प्रतिस्पर्धा गर्ने गठबन्धनका दलहरुबीच सहमति बनेको छ। राष्ट्रिय स्वतन्त्र पार्टीले पनि यही १४ गते पार्टीका उम्मेदवारहरुको नामावली प्रकाशन गर्ने तालिका नै सार्वजनिक गरेको छ ।
रास्वपाले स्थानीयलाई नै उम्मेदवार बनाउने बताउँदै आएको छ । इलाममा पहिचानवादी र स्वतन्त्रबाट पनि उम्मेदवारी घोषणा भइसकेको छ ।