आयरल्यान्ड ‘ए’विरुद्ध सिरिज जित्ने नेपालको लक्ष्य

आयरल्यान्ड ‘ए’विरुद्ध सिरिज जित्ने नेपालको लक्ष्य

१३ चैत , काठमाण्डौ ।

नेपाली राष्ट्रिय क्रिकेट टोली र आयरल्यान्ड ‘ए’ (उल्भ्स) बीच टी–२० श्रृङ्खलाको दोस्रो तथा अन्तिम खेल आज हुँदैछ । खेल कीर्तिपुर मैदानमा दिउँसो एक बजेदेखि शुरु हुनेछ । हिजो भएको पहिलो खेलमा नेपालले आयरल्यान्ड ‘ए’ लाई ६ विकेटले हराएको थियो । आयरल्यान्डलाई मात्र १ सय २१ रनमा अलआउट गरेको नेपालले १७ औं ओभरमा लक्ष्य पूरा गरेको थियो । सोमबारको खेलमा नेपालका लागि आकाश चन्द, प्रतिश जिसी, अनिल शाह र विवेक यादव बेन्चमा रहेका थिए ।

आज प्रशिक्षक देशाईले टोलीमा परिवर्तन गर्ने सम्भावना छ । नेपाल सिरिज जित्ने लक्ष्यमा हुनेछ । आजको खेल जितेमा नेपालले यो श्रृङ्खला जित्नेछ । नेपाल पराजित भएमा श्रृङ्खला एक÷एकको बराबरी हुनेछ । गएराति परेको पानीले आज मैदान केही ओसिलो छ । यो श्रृङ्खलापछि नेपाली राष्ट्रिय क्रिकेट टोली भारतको गुजरात र बरोडासँग खेल्न भारत जानेछ । यता नेपाल ‘ए’ ले आयरल्यान्ड ‘ए’ सँग तीन टी–२० र एकदिवसीय खेल खेल्नेछ ।

यस्तै आइसीसी टि२० विश्वकपको तयारीमा रहेको नेपालको सिनियर टोली भारत भ्रमणपछि त्यहाँबाट एसीसी प्रिमियर कपको लागि ओमान जाने कार्यक्रम रहेको छ । विश्वकपअघि सम्भवत सिनियर टोलीले नेपालमा खेल्ने यो नै अन्तिम खेल हुनेछ । नेपाली टोलीमा कप्तान रोहित पौडेलसहित आसिफ शेख, कुशल भुर्तेल, कुशल मल्ल, विवेक यादव, सन्दिप जोरा, अनिल शाह, गुलशन झा, दीपेन्द्रसिंह ऐरी, ललित राजवंशी, करण केसी, सोमपाल कामी, प्रतिश जिसी, अभिनाश बोहरा, आकाश चन्द रहेका छन् ।

यता फिफा विश्वकप–२०२६ छनोटको दोस्रो चरणमा आज नेपाली राष्ट्रिय टिमले बहराइनविरुद्ध दोस्रो लेग खेल्दै छ । नेपाल समूह ‘एच’मा छ । विश्वकप छनोटको पहिलो चरणमा नेपालले लाओसलाई समग्रमा १–० ले हराएको थियो । दोस्रो चरणमा तीन खेल खेलिसके पनि नेपाल अझै अंकविहीन छ । बहराइनसँग दोस्रो लेग खेल्दा भिन्चेन्सो अल्बर्टो एनेसको प्रशिक्षणमा रहेको नेपाली टिम पहिलो अंक जोड्ने लक्ष्यमा हुनेछ ।

नेपालले यसअघि पहिलो लेगमा बहराइनसँग ५–० को फराकिलो हार व्यहोरेको थियो । बहराइनलसँगको पहिलो लेग घरेलु मैदानमा हुने तालिका थियो । तर, दशरथ रंगशालाको स्तर खेल्नलायक नभएपछि पहिलो र दोस्रो दुवै लेग बहराइनमा हुने भएको हो । बहराइनको बहराइन राष्ट्रिय रंगशालामा दोस्रो लेग नेपाली समयानुसार राति १२ः४५ बजेदेखि सुरु हुनेछ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.