नौं वर्षअघिको त्यो कहालिलाग्दो दिन, कसरी सम्झनुहुन्छ ?

११ बैशाख ८१, बुधबार

१२ वैशाख ,काठमाण्डौ।

Advertisement

नौं वर्षअघि २०७२ साल वैशाख १२ गते शनिवार गएको ७ दशमलव ८ रेक्टरको भूकम्प सम्झिदा अहिले पनि धेरैको मुटु हल्लिन्छ । सो महाभूकम्पमा परेर ८ हजार ५ सय ५६ जनाको ज्यान गएको थियो भने २२ हजार ३ सय ९ जना घाइते भएका थिए । गोरखाको बारपाक केन्द्रविन्दु भएर गएको भूकम्पमा परी ६ लाख २ हजार २ सय ५७ नागरिकका घर तथा २ हजार ६ सय ७३ सरकारी भवन पूर्णरुपमा क्षति भएको थियो ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार बिहान ११ बजेर ५६ मिनेटमा उक्त भूकम्प गएको थियो । जमिनको सतहबाट करिब १४ किलोमिटर गहिराइमा केन्द्रविन्दु भएको भूकम्प एक मिनेटजति निरन्तर कम्पन भएको थियो । त्यसपछि पनि सानाठूला परकम्प मापन गरिएको छ । उक्त भूकम्पपछि आजसम्म कैयौँ परकम्प मापन गरिएको छ ।

Advertisement

सानाठूला सबै गरी गोरखा भूकम्पका ५५ हजारभन्दा बढी परकम्प मापन गरिएको छ। भूकम्पबाट लाखौँ घरमा क्षति पुग्यो । धरहरा ढल्यो । कयौँ धार्मिक र सांस्कृतिक सम्पदा ढले वा क्षतिग्रस्त भए । सम्झँदा अहिले पनि कहाली लाग्छ । ७२ को भूकम्प अघि वि. सं. १९९० को माघ २ गते गएको भूकम्पलाई नेपालमा पछिल्लो समय गएको सबैभन्दा ठूलो भूकम्प भनिन्थ्यो ।

भूकम्पका कारण क्षति पुगेका संरचनाका पुनर्निर्माणको कामले बिस्तारै पूर्णता पाइरहेको छ । तर नेपालले यस्ता भूकम्पहरूबाट खासै पाठ सिकेको छैन । भूकम्पको पूर्वतयारीमा अझै जोड नदिइएको विज्ञहरुले बताउदै आएका छन् । भूकम्पमा परेर मृत्यु भएका नागरिकहरूको स्मृतिमा गोरखाको बारपाक सुलिकोट गाउँपालिकाले आज सार्वजनिक बिदा दिएको छ।

Advertisement

गाउँपालिका अध्यक्ष विष्णु भट्टले मंगलबार सूचना जारी गर्दै बुधबार गाउँपालिकाभर बिदा दिएको जनाएका हुन् । भूकम्पमा परेर मृत्यु भएका नागरिकहरूको सम्झनामा गाउँपालिकाले आज श्रद्धाञ्जली कार्यक्रम पनि गरेको छ । गोरखा भूकम्पले काठमाडौँ, ललितपुर, भक्तपुर, काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, दोलखा, रामेछाप, नुवाकोट, धादिङ, रसुवा, गोरखा, मकवानपुर, सिन्धुली र ओखलढुङ्गा जिल्लामा बढी प्रभाव पारेको थियो।

बढी प्रभाव परेका १४ जिल्लालाई सरकारले अति प्रभावित घोषणा गरेको थियो। भूकम्पले करिब नौ हजार मानिसको निधन भएको थियो। अति प्रभावित १४ र कम प्रभावित १८ जिल्लामा गरी आठ लाख बढी निजी आवासमा क्षति पुगेको थियो। भूकम्पले करिब एक हजार ५०० सांस्कृतिक सम्पदामा क्षति भएको थियो।

अति प्रभावित र प्रभावित जिल्लाका विद्यालय, स्वास्थ्य संस्था, सुरक्षा निकायका भवन, सडक र खानेपानी आयोजनामा भूकम्पले क्षति पुगेको थियो। भूकम्पले क्षति पुगेका संरचनाको पुनःनिर्माण गर्न २०७२ पुसमा राष्ट्रिय पुनःनिर्माण प्राधिकरणको स्थापना भएको थियो। नेपाल भूकम्पीय जोखिमको क्षेत्रमा पर्दछ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top