विराटनगर, भदौ ३१
भारतको आग्रामा आयोजना हुने ४६ औं संस्करणको एसियन स्कुल यू–१८ च्याम्पियनसिप फुटबल प्रतियोगितामा सहभागी हुने नेपाली राष्ट्रिय टोलीको विराटनगरमा विदाई गरिएको छ । प्रदेश १ का मुख्य मन्त्री शेरधन राई, सामाजिक विकास मन्त्री जीवन घिमिरे, अखिल नेपाल फुटबल संघ (एन्फा) का केन्द्रीय अध्यक्ष कर्मा छिरिङ शेर्पा, विराटनगर महानगरपालिकाका मेयर भीम पराजुली लगायतले खेलाडी टोलीको विदाई गरे ।
अविर, खादा तथा खेलकुद सामग्री सहित खेलाडी टोलीलाई विदाई गरिएको एन्फाका केन्द्रीय सदस्य तथा टोली व्यवस्थापक रुपेश अधिकारीले बताए । उनका अनुसार २० खेलाडी र आठ अफिसियल सहितको २८ सदस्यीय टोली असोज ४ गते भारत प्रस्थान गर्ने छ ।
विदाई कार्यक्रममा मुख्य मन्त्री राईले नेपाली फुटबलले नयाँ उचाई र नयाँ गति लिने विश्वास व्यक्त गरे । यू–१८ राष्ट्रिय टोलीको प्रशिक्षण पहिलो पटक प्रदेश १ को अस्थायी मुकाम विराटनगरमा गरिएकोमा अभार व्यक्त गर्दै राईले विदेशी भूमिमा उच्च मनोवल, पूर्ण आत्मविश्वासका साथमा खेल कला देखाउन नेपाली खेलाडीलाई हौसला प्रदान गरे । ‘विजय हाँसिल गर्न नचुक्नुस,’ विजयको अग्रिम शुभकामना दिंदै उनले खेलाडीलाई भने, ‘प्रथम, द्धितिय र तृतिय जे भए पनि विजय प्राप्त गरेपछि प्रदेश सरकारले सम्मान गर्ने छ ।’
प्रदेश सरकारले खेलकुदलाई उच्च प्राथमिकतामा राखेको भन्दै मुख्यमन्त्री राईले खेलका माध्यमबाट अनुसाशित, सभ्य र स्वस्थ्य समाज निर्माण गर्न सकिने बताए । उनले एसियन च्याम्पियनसिपलाई खेलाडीले क्षमता र कौशल प्रदर्शन गर्दै उपाधि जित्ने मौकाका रुपमा सदुपयोग गर्नु पर्ने बताए ।
सामाजिक विकास मन्त्री घिमिरेले फुटबल राष्ट्रको गौरवसंग जोडिएको विषय भएकाले खेलाडीले पनि त्यही हिसावको प्रदर्शन गर्नु पर्नेमा जोड दिए । प्रदेशमा खेलकुदलाई पहिलो प्राथमिकतामा राखिएको उनको भनाइ छ । घिमिरेले खेलमा हारजित स्वभाविक हुने भएकाले खेलाडीले संधै जित्नका लागि खेल्नु पर्नेमा जोड दिए ।
एन्फा अध्यक्ष शेर्पाले नेपाली टोलीलाई जितका लागि अग्रिम शुभाकामना दिंदै नेपाली फुटबललाई व्यवसायिक बनाउने हिसावका धेरै काम भइरहेको जानकारी दिए । मेयर पराजुलीले नेपालबाट आउने खेलाडी अत्यन्त मेहनती र लगनशील छन् भन्ने सन्देश सबैमा पु¥याउने खालको खेल प्रदर्शन गर्न आग्रह गरे ।
एक महिनादेखि विराटनगरमा भइरहेको बन्द प्रशिक्षणबाट नेपाली खेलाडीको टिम तयार पारिएको हो । पहिलो पटक नेपाली फुटबल टोलीले यस प्रतियोगितामा सहभागिता जनाउन पाउने भएपछि एक महिनादेखि टोली बन्द प्रशिक्षणमा छ । भारतको आग्रामा आगामी असोज ४ गतेदेखि प्रतियोगिता सुरु हुँदैछ । १० दिन सम्म चल्ने प्रतियोगिताका लागि नेपालका तर्फबाट दिनेश हेन्जनको कप्तानीमा २० जना खेलाडी चयन गरिएको छ । मुख्य प्रशिक्षक चेतनारायण श्रेष्ठले प्रतियोगिताका लागि टोली पूर्ण रुपमा तयार रहेको जानकारी दिए ।
नेपाली टिममा रहेका २० जना मध्ये १३ जनाले यस अघि अन्तराष्ट्रिय खेल खेलिसकेका छन् । सात जना नायाँ अनुहार छन् । नेपाली टिमका तर्फबाट गोलरक्षकको भूमिकामा विष्णुकुमार केसी, विशाल सुनार र सूर्य अधिकारी मध्ये एक जना रहने छन् । विकास खवास, नविन गुरुङ, राजन गुरुङ, असिम गुरुङ, रन्दिप पौड्याल र सजित राई डिफेन्सको भूमिकामा रहने छन् ।
नितिन थापा, मनिष थापा, जय गुरुङ, सेतेहाङ आङ्देम्बे, सुरज ज्यू ठकुरी र अनिल महर्जन मिडफिल्डर हुन् । स्ट्राइकरमा कप्तान दिनेश हेन्जन, बुद्ध वल तामाङ, रितिक खड्का, अनुप गुरुङ र टिका गुरुङ रहेका छन् । मुख्य प्रशिक्षकमा चेतनारायण श्रेष्ठ, प्रशिक्षकमा पासाङ तामाङ, गोलरक्षक प्रशिक्षकमा चक्रबहादुर तामाङ, टिम व्यवस्थापक रुपेश अधिकारी, अफिसियल दिपेन्द्र तिवारी, रेफ्री श्रवण लामा, फिजिओ प्रवेष भट्राई र पत्रकार किशोर बुढाथोकी टोलीमा छन् । प्रतियोगिता अन्र्तगत समूह ‘क’ मा रहेको नेपालले थाइल्याण्ड, इन्डोनेशिया र चीनसंग प्रतिष्पर्धा गर्ने छ । त्यसै गरी समूह ‘ख’ मा आयोजक राष्ट्र भारत, श्रीलंका, दक्षिण कोरिया र मलेशिया रहेका छन् । नेपालले असोज ७ गते थाइल्याण्डसंग पहिलो खेल खेल्ने छ ।