मधेसमा अब जनमतको सरकार, ७ वर्षपछि ढल्यो जसपाको सरकार

मधेसमा अब जनमतको सरकार, ७ वर्षपछि ढल्यो जसपाको सरकार

२४ जेठ, काठमाण्डौ।

जनमत पार्टीका सांसद सतिश सिंह मधेस प्रदेशको मुख्यमन्त्री बन्ने भएका छन् । जनता समाजवादी पार्टी नेपाल नेतृत्वको सरकार बुधबार ढलेपछि मधेसको तेस्रो मुख्यमन्त्रीको रूपमा सिंह मुख्यमन्त्री बन्न लागेका हुन् । लगातार ७ वर्षदेखि मधेसको सत्ता सम्हाल्दै आएको जसपा, नेपाल मधेस सरकारबाट बढारिएको छ।

मुख्यमन्त्री सरोजकुमार यादवले मधेसको प्रदेश सभाबाट बुधवार विश्वासको मत गुमाएपछि मधेसको सत्ताबाट जसपा, नेपाल बाहिरिनु परेको हो । बुधबार प्रदेशसभामा जसपा नेता सरोजकुमार यादवले विश्वासको मत प्राप्त गर्न नसकेपछि प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले नयाँ मुख्यमन्त्रीका लागि शुक्रबार बिहान १० बजेसम्म दाबी पेस गर्न आह्वान गरेकी थिइन् ।

संविधानको धारा १६८ (२) मा प्रदेश सभामा कुनै पनि दलको स्पष्ट बहुमत नरहेको अवस्थामा प्रदेश सभामा प्रतिनिधित्व गर्ने दुई वा दुई भन्दा बढी दलहरूको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रदेश सभाको सदस्यलाई प्रदेश प्रमुखले मुख्यमन्त्री नियुक्त गर्ने प्रावधान रहेकाले सोही व्यवस्थाअनुसार सिंहले नेतृत्व पाउन लागेका हुन् ।

जनमत पार्टीका प्रवक्ता डा. सरद सिंह यादवले सिंहलाई मधेसको मुख्यमन्त्रीमा पठाउने निर्णय भएको बताए । जनमत पार्टीको नेतृत्वमा नेकपा एमाले, माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीले सरकार बनाउन लागेको हो । जनमतका संसदीय दलका नेता महेश प्रसाद यादव भए पनि सिंहलाई मुख्यमन्त्री बनाउन लागिएको हो ।

सिंह यसअघि २०७४ मा तत्कालीन राजपा पार्टीबाट तिलाठी कोइलाडी गाउँपालिकाका अध्यक्षको रूपमा निर्वाचित भएका थिए । गत स्थानीय तहको निर्वाचनमा लोसपाबाट चुनाव लडेपनि पराजित भएका थिए । प्रदेशसभाको निर्वाचनमा भने उनी जनमतबाट निर्वाचित भए । उनी लोसपाको राष्ट्रियसभा सदस्य शेखर सिंहका छोरा हुन् ।

जनमतले सप्तरीबाटै समानुपातिक सांसद रहेकी रंजुकुमारी मंडल खंगलाई तत्काल बिनाविभागीय राज्यमन्त्रीको शपथ खुवाउने निर्णय पनि गरेको छ । आज दिउँसो मन्त्रालयको भागबन्डा टुंग्याउन पनि बैठक बस्ने बताइएको छ । प्रदेश स्तरमा सहमति नभए केन्द्रीय नेतृत्वले नै मन्त्रालयको भागबन्डा टुंगो लगाउने नेताहरूले बताएका छन् । असार १ गते बजेट ल्याउनुपर्ने संवैधानिक बाध्यताका कारण दलहरूले सरकार गठनलाई तीव्रता दिएका हुन् ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.