१२ असार , एजेन्सी ।
युरोकप फुटबलमा समूह ’डी’ को अन्तिम चरणको खेलमा नेदरल्याण्ड्सलाई ३–२ गोलले हराएर अष्ट्रिया अन्तिम १६ मा पुगेको छ । अस्ट्रियाले पहिलो हाफमा डोनिएल मालेनको गोल उपहार पाएको थियो । दोस्रो हाफमा रोमानो स्मिथ र मार्सेल सबिट्जरले गोल गरे । नेदरल्यान्ड्सका कोडी गाक्पो र मेम्फिस डिपेले गोल गरेपनि जित दिलाउन सकेनन् ।
तीन खेलमा दुई जितका साथ अष्ट्रिया छ अङ्कसहित समूह विजेता बनेको छ । यो समूहमा फ्रान्स तीन खेलमा पाँच अङ्कसहित दोस्रो स्थानमा छ । नेदरल्याण्ड्स भने चार अङ्कसहित तेस्रो स्थानमा छ । पोल्याण्ड एक अङ्कसहित समूहको पुछारमा रहँदै बाहिरिएको छ । यसअघि फ्रान्स र पोल्याण्डले १–१ गोलको बराबरी खेलेका थिए ।
यस्तै समूह ’सी’ अन्तर्गत अन्तिम चरणको दुवै खेल बराबरीमा सकिएका छन् । इंग्ल्यान्ड र स्लोभेनिया तथा डेनमार्क र सर्बियाले गोलरहित बराबरी खेले । यससँगै इंग्ल्यान्ड पाँच अङ्कका साथ समूह विजेताको रुपमा अन्तिम १६ मा पुगेको छ । डेनमार्क र स्लोभेनियाले पनि अन्तिम १६ मा स्थान बनाएका छन् । दुवै टोलीको समान तीन अङ्क छ ।
दुई अङ्क रहेको सर्बिया भने बाहिरिएको छ । उता कोपा अमेरिका फुटबलमा साविक विजेता अर्जेन्टिनाले लगातार दोस्रो जीत निकालेको छ । अर्जेन्टिना समूह ’ए’बाट अघिल्लो चरणमा पुगेको छ । उसले आज बिहान भएको समूह ’ए’ को खेलमा चिलीलाई एक–शुन्य गोलले हरायो । न्यू जर्सीमा भएको खेलमा ८८ औँ मिनेटमा लाउटरो माट्रिनेजले गरेको गोल नै निर्णायक भयो ।
अर्जेन्टिनाले पहिलो खेलमा क्यानडालाई दुई–शुन्य गोलले हराएको थियो । लगातार दुई जीतसहित अर्जेन्टिना समूह ’ए’को शीर्ष स्थानमा छ । उसको छ अङ्क छ । आज बिहान भएको खेलमा क्यानडाले पेरूलाई एक–शुन्य गोलले हरायो । क्यानडाका लागि जोनाथन डेभिडले खेलको ७४औं मिनेटमा गरेको गोल नै निर्णायक बन्यो। क्यानडा दुई खेलमा तीन अङ्कसहित दोस्रो स्थानमा छ । दुई खेलमा समान एक अङ्क भएका चिली तेस्रो र पेरु चौथो स्थानमा छ ।