बादलका फरार छोरा प्रतीक पक्राउ

१५ असार ८१, शनिबार
Share this
718shares

१५ असार, काठमाण्डौ।
नेकपा (एमाले) का उपाध्यक्ष रामबहादुर थापा बादलका छोरा प्रतीक थापा पक्राउ परेका छन् । पूर्वगृहमन्त्री समेत रहेका थापाका छोरालाई प्रहरीले शुक्रबार साँझ काठमाडौँको बौद्धबाट पक्राउ गरेको हो । नक्कली भुटानी शरणार्थी प्रकरणका अभियुक्त रहेका प्रतीक लामो समयदेखि फरार थिए । नक्कली भुटानी शरणार्थी बनाएर ठगी गरेको प्रकरणमा उनलाई फरारकै सूचीमा राखेर अभियोगपत्र दर्ता गरिएको थियो ।

Advertisement

उनलाई ठगी, संगठित अपराध, सरकारी लिखत किर्ते, राज्यविरुद्धको कसुर र एकीकृत कसुरमा सजाय माग गरिएको छ । यी सबै अभियोग जोड्दा २४ वर्ष कैद मागदाबी लिइएको छ । उनी काठमाडौँको नक्सालस्थित नीलगिरि होटलमा बसेर नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाई अमेरिका पठाउने कार्यमा सक्रिय रहेको खुलेको अभियोगपत्रमा उल्लेख छ ।

उनले बिचौलियासँगको भेटघाटका लागि सम्पर्कस्थान नै उक्त होटललाई बनाएका थिए । प्रतीक थापाले नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाई अमेरिका पठाइदिने समूहमा आबद्ध भई भुटानी शरणार्थीसँग सम्बन्धित नक्कली प्रतिवेदन, गृह मन्त्रालयका पत्रहरुका आधारमा विश्वास दिलाई करोडौं रकम उठाउन लगाई ठगी गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ ।

Advertisement

बादल गृहमन्त्री हुँदा प्रतीक प्रमुख स्वकीय सचिव थिए । यही प्रकरणमा पूर्वगृहमन्त्री बालकृष्ण खाण, गृहसचिव टेकनारायण पाण्डे, थापाका सल्लाहकार इन्द्रजित राई, खाणका सहयोगी नरेन्द्र केसी, एमाले सचिव टोपबहादुर रायमाझी र उनका छोराविरुद्ध पनि काठमाडौँ जिल्ला अदालतमा मुद्दा चलिरहेको छ ।

२०७९ चैतमा शरणार्थी प्रकरणका केही आरोपित पक्राउ परेपछि प्रतीक थापा भने फरार थिए । २०८० वैशाख २१ मा प्रेस विज्ञप्ति जारी गरी प्रतीकले आफू यसमा संलग्न नरहेको भन्दै अनुसन्धानलाई सघाउने बताएका थिए । तर प्रहरी अनुसन्धानकै क्रममा उनी फरार थिए । त्यसपछि प्रहरीले ०८० वैशाख ३१ गते उनीविरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो ।

Advertisement

तत्कालीन गृहमन्त्री थापाका सुरक्षा सल्लाहकार इन्द्रजीत राई यही प्रकरणमा पक्राउ परेपछि अनुसन्धानको सुई प्रतीकतिर पनि सोझिएको थियो । यो प्रकरणमा जिल्ला अदालत काठमाडौंले दुई जनालाई धरौटीमा रिहा गरी बाँकी १६ जनालाई पुर्पक्षका लागि कारागार पठाएकोमा उच्च अदालत पाटनले पूर्वगृहमन्त्री खाणसहित ९ जनालाई धरौटीमा रिहा गरी बाँकी जिल्लाकै आदेश सदर गरेको थियो ।

७ जनाले समेत उच्चको आदेशविरुद्ध सर्वोच्चमा पुनरावेदन दिएकामा सर्वोच्चले उच्चकै आदेश सदर गरेपछि पूर्वउपप्रधानमन्त्री रायमाझी, सचिव पाण्डे (हाल निलम्बित), विचौलिया दुलाल, भण्डारीसहितलाई मुद्दाको किनारा नलागेसम्म पुर्पक्षमै पठाउन आदेश दिएकोमा उनीहरु हाल केन्द्रीय कारागारमा छन् ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top